माघ १९, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले शुक्रबार आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा बलियो टेस्ट राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ ।
नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । भारतले भने ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डलाई दुई सय १४ रनको विशाल अन्तरले पराजित गरेको थियो । नेपालले यू–१९ विश्वकपको उपाधि जित्ने सम्भावना भने यसअघि नै समाप्त भइसकेको छ ।
यू–१९ विश्वकपमा नेपालको यो आठौँ सहभागिता हो । नेपालले सन् २००० मा श्रीलंकामा सम्पन्न तेस्रो संस्करणदेखि यू–१९ विश्वकपमा सहभागिता जनाउन थालेको हो । यू–१९ विश्वकपको त्यही संस्करणमा नेपाल र भारतबिच पहिलो भिडन्त भएको थियो ।
यू–१९ विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले देव खनालको कप्तानीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवाष भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द रहेका छन् ।