पुस १४, काठमाडौँ । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गेल अन्तरले हराउँदै ललितपुरले उपाधि जितेको हो ।
ललितपुरलाई जित दिलाउन इमो एजिकेलले दुई गोल गरे । त्यस्तै दिनेश हेम्जनले एक गोल गरे । धनगढीका लागि ओलावाले अफिज र अहमेद हिजाजिले एक–एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने धनगढी एफसीले बनाएको थियो । धनगढीका लागि ओलावाले अफिजले खेलको ३९औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।पहिलो हाफको इन्जुरी समयमा ललितपुरका लागि इमो एजिकेलले गोल गर्दै ललितपुरलाई बराबरीमा ल्याए ।
खेलको ५१ औं मिनेटमा दिनेशले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए । खेलको ५८ औं मिनेटमा एजिकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ गोल गर्दै टिमलाई जिततर्फ लिए । खेलको इन्जुरी समयमा हिजाजले गोल गरे पनि ललितपुरले ३–२ गोलको जित निकाल्न सफल भयो । जितसँगै ललितपुरले ७० लाख पुरस्कार पाएको छ ।