• २०८० मङ्सिर १५ गते शुक्रवार

महा गफाडी नामक रियालिटी शो सुरु हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन १४, काठमाडौं । महा गफाडी नामक रियालिटी शो सुरु हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै, ढाका टोली प्रोड्क्सनले टेलिभिजन हास्य कार्यक्रम (टेलिभिजन रियालिटी सो) ‘महागफाडी’ घोषणा गरेको हो ।

मनोरञ्जनका विविध विधामध्येको एक विधा– वाककलामा आधारित कार्यक्रममार्फत बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरूलाई अवसर दिइने निर्देशक नरेशनाथ योगीले जानकारी दिए ।

उनले भने, ‘कतिले सजिलै गफाडी उपमा पनि दिँदै आएका छन् । तिनै गफाडी, वाककलाका धनीहरूको खोजी गर्ने एक नवीन प्लेटफर्म हो महागफाडी ।’ यो कार्यक्रममा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले आफ्नो सहभागिता जनाउन सक्नेछन् । आफ्नो मातृभाषामा पनि अडिसन दिन पाइने तथा अवस्था हेरेर कुनै प्रस्तुति पनि दिन पाइने भए तापनि प्राथमिकतामा भने नेपाली भाषालाई नै राखिएको उनले बताए ।

कार्यक्रमको निर्णायकका रूपमा नेपाली हास्यव्यंग्य क्षेत्रमा लामो समयदेखि आफ्नो उपस्थितिले सबैलाई मनोरञ्जन दिइहेका कलाकार शैलेन्द्र सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ छन् । यस्तै, कार्यक्रमलाई अभिनेता कामेश्वर चौरसियाले सञ्चालन गर्नेछन् । आफू गफाडी नभएकै कारण कार्यक्रममा जोडिएको निर्णायक तामाङले जानकारी दिए । उनले भने, ‘प्रस्ताव आउँदा म केही अचम्मित भएँ । यद्यपि, कार्यक्रमको ढाँचाले मलाई आकर्षित गर्यो । मेरो लागि यो नयाँ अनुभव हुनेछ ।’

निर्णायककै भूमिकामा रहेकी अभिनेत्री तुलाधरले सबै आ–आफ्नै भाषामा आफ्नो कला देखाउनु पाउनु सुखद रहेको बताइन् । ‘हामीले सोच्ने हास्य प्रहसन भाषिक अस्वतन्त्रताका कारण चाहेजस्तो व्यक्त गर्न पाइँदैन । यसमा सबैले आ फ्नै भाषामार्फत प्रस्तुति दिन पाउनेछन् । यो पनि नयाँ प्रयोग हो,’ अभिनेत्री तुलाधरले भनिन् ।

आफ्ना ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानमार्फत आफूलाई महागफाडीको दाबेदारका रूपमा प्रस्तुत गर्ने कार्यक्रममा विजेतामध्ये प्रथम हुनेले नगद १५ लाख र सवारीसाधन, द्वितीय हुनेले नगद १० लाख र सवारीसाधन तथा तृतीय हुनेले नगद पाँच लाख र सवारीसाधन प्राप्त गर्नेछन् ।
सोह्र हप्तासम्म चल्ने कार्यक्रम अवधिभर प्रतियोगीले कुनै भाषा, लैंगिक, समुदाय, जातजाति, धर्म सम्प्रदायलाई प्रत्यक्ष नकारात्मक असर पर्ने गरी कुनै प्रस्तुति दिन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस