• २०८० फाल्गुन १० गते बिहिवार

कांग्रेस नेत्री पाण्डेको निधन, कांग्रेसले तीन दिन झन्डा आधा झुकाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ १६, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य एवं पूर्व महिला, बालबालिका तथा समाज कल्याणराज्यमन्त्री मीना पाण्डेको आज अपराह्न काठमाडौंको गौशालास्थित निजी निवासमा निधन भएको छ । विसं २००८ मा जन्मिएकी पाण्डेले विसं २०३५ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेकी थिईन् । तीन पटकसम्म कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य रहेकी स्व. पाण्डे विसं २०४८, २०५१ र २०७४ मा प्रतिनिधिसभा सदस्य थिईन् भने विसं २०६४ मा संविधानसभा सदस्य भएकी थिईन् ।

उनी कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको दुई पटक सभापति भएकी थिईन् । नेपालमा प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका क्रममा उनले पटक–पटक जेल जीवनसमेत व्यतित गरेकी थिईन् । उनको निधनबाट कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको जनाएको छ ।

पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा कांग्रेसले तीन दिन झन्डा आधा झुकाउने
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, बालबालिका तथा समाजकल्याण पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा तीन दिन आधा झण्डा झुकाउने भएको छ । कांग्रेसले मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो ।

बुधबार केन्द्र तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरूमा शोक पुस्तिकाहरू राख्ने र १३ औं दिनमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ । पाण्डेको निधनमा सभापति शेरबहादुर देउवाले पनि दु:ख व्यक्त गरेका छन् ।

‘उनको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ। नेपाली कांग्रेस, नेपालको लोकतान्त्रिक आन्दोलन तथा महिला हक अधिकारका लागि उहाँले पुर्‍याउनु भएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ,’ उनले भनेका छन् । पाण्डेको निधनले कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको पनि देउवाले बताए । ‘उहाँको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले भने ।

प्रतिक्रिया दिनुहोस