साउन १०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आशंका गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सुन तस्करीका विषयमा अहिले भइरहेको अनुसन्धान झारा टार्ने किसिमको मात्र भएको बताए ।
नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको भन्दै उनले अहिले पनि सरकारले थाहा पाएर सुन तस्करीमा संलग्नहरु पक्राउ नपरेको लिङ्देनले बताए । विमानस्थल भन्सारबाट १०० किलो सुन प्रवेश गराइनु सामान्य विषय नभएको भन्दै लिङ्देनले समाजलाई ठीक दिशामा ल्याउन यो घटनाको अनुसन्धान जरासम्म पुर्याउनुपर्ने बताए ।
उनले भने, ‘भरिया पक्रेर सुन तस्करीका नाइके संरक्षण गर्ने, हामीले यति काम त गर्यौं नि भन्ने काम नहोस् । अहिले जुन ढंगले अनुसन्धान प्रक्रियाका नाममा झारा टार्ने काम भएको छ, यसरी हुँदैन । विशेष आयोग, छानबिन आयोग बनाएर अनुसन्धान अघि बढाइयोस् भन्न चाहन्छु ।अरु देशले सूचना दिएपछि पक्राउ गरेको हो’ बाह्य दबाब र सूचनाका आधारमा कसैलाई देखाउनका लागि मात्र सुन पक्राउ गरेको हो । भुटानी शरणार्थी, ललिता निवास प्रकरण र यी विषयमा जरासम्म पुग्नुपर्छ तर सरकार जरासम्म पुग्न तयार छैन ।’