चैत ११, काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुराको पनि जनगणना गर्ने उद्घोष गरिए तापनि सरकारले सो क्षेत्रबाहेकको जनगणनाको अन्तिम रूप सार्वजनिक गरेको छ ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गरेको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ ।
भारतले प्रवेश नदिएपछि अनौपचारिक रूपमा तथ्यांक संकलनको प्रयास गरे पनि सही मापन नभएकाले कालापानी, लिम्पियाधुरा, लिपुलेक राष्ट्रिय जनगणनामा समावेश नभएको भनाइ राष्ट्रिय तथ्यांक कार्यालयको रहेको छ ।
१२औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरुष र १ करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन् । अन्य लिंगीको संख्या २ हजार ९ सय २८ छ ।
यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो ।
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
विस्तृत र अन्तिम प्रतिवेदनमा भने २७ हजार ९ सय २ कम अर्थात् २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्या देखिएको हो । जनगणना प्रतिवेदनअनुसार नेपालको जनगणना वृद्धिदर हालसम्मकै सबैभन्दा कम देखिएको छ ।
बसाइँसराइ र महिलाहरूको प्रजनन दरमा आएको ह्रास तथा ढिलो विवाहका कारण १० वर्षको सरदर जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ ।
सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर (३.३५ प्रतिशत) र सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप (–१.६७ प्रतिशत) रहेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यसपटक जनसंख्या वृद्धिदर नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । पछिल्लो जनगणनाअनुसार १९९८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १.२७ प्रतिशत थियो ।
२०६८ सालको जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकामा यसपटक भने ०.९२ प्रतिशत पुगेको छ । १० वर्षमा नेपालको जनसंख्या २६ लाख अर्थात् १० प्रतिशतले बढेकोे हो । जनसंख्या वृद्धिदर २०४८ मा २.०८, २०५८ सालमा २.२५ र २०६८ सालमा १.३५ प्रतिशत थियो ।
जनसंख्या वृद्धिदरमा आएको कमीले भोलिका लागि योग्य र उत्पादनशील जनशक्तिको अभाव हुने हो कि भन्ने चिन्ता पैदा गरेको तथ्यांकशास्त्री बताउँछन्। तथ्यांक कार्यालयका अनुसार मानिसको औसत आयु बढेको छ । महिलाको प्रजननदरमा कमी आएको छ ।
तथ्यांकअनुसार सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौंमा २० लाख ४१ हजार ५ सय ८७ जनसंख्या छ भने सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङमा ५ हजार ६ सय ८५ जना मानिस छन् ।
भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१ करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.१ प्रतिशत (१ करोड १७ लाख ५७ हजार ६ सय २४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९ सय ४८ जना) जनसंख्या रहेको छ ।
प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बाग्मती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ ।
१० वर्षमा सहरी जनसंख्या १७ बाट ६६ प्रतिशत
१० वर्षमा नेपालको सहरी जनसंख्या १० वर्षमा उथलपुथल भएको छ । २०६८ सालको जनगणनाअनुसार १७ दशमलव ८ प्रतिशत सहरी जनसंख्या रहेकोमा २०७८ मा आएर यो संख्या ६६.१७ प्रतिशत पुगेको छ ।
गत वर्षको आर्थिक सर्वेक्षणमा सहरी जनसंख्या ५९.९ प्रतिशत पुगेको थियो । २०७८ को जनगणना अनुसार नगरपालिकाहरूमा बस्ने जनसंख्या ६६.१७ प्रतिशत रहेको हो भने गाउँपालिकामा बस्ने जनसंख्या ३३.८३ प्रतिशत रहेको छ । यसअघि २०६८ को जनगणनामा ५८ वटा मात्र नगरपालिका रहेकोमा सोहीअनुसार सहरी जनसंख्या विश्लेषण गरिएको थियो ।
२०६८ को जनगणनामा ८२.९३ प्रतिशत ग्रामीण जनसंख्या रहेको थियो ।
कम उमेरको संख्या घट्दै
राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणअनुसार कम उमेरको संख्या घट्दै गएको र बढी उमेरका जनसंख्या बढदै गएको देखिएको छ ।
२६ प्रतिशत परिवार मोबाइलविहीन
नेपालमा साधारण मोबाइल फोन हुने परिवारको प्रतिशत ७३.१५ मात्रै रहेको छ । अहिलेको जीवनको पर्यायका रूपमा रहेको मोबाइल फोन २६ प्रतिशत जनतासँग नदेखिएको हो । ७२.९४ प्रतिशत परिवारसँग स्मार्ट मोबाइल फोन भएको विवरण आएको छ । त्यस्तै, कुल परिवारमध्ये ४९.३७ प्रतिशतमा टेलिभिजन र ३७.७२ प्रतिशत परिवारमा इन्टरनेटको सुविधा उपलब्ध रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
परिवार संख्या ६६ लाख ६६ हजार
देशमा बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९ सय ३७ छन् । २०६८ सालको जनगणनामा कुल परिवार संख्या ५४ लाख २७ हजार ३ सय २ रहेको थियो ।
जसमध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८ सय ४१ र संस्थागत परिवार ६ हजार ९६ रहेका छन् । प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ, जुन २०६८ सालमा ४.८८ जना रहेको थियो ।
परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (५.९४) र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको छ ।
बाग्मतीमा बढी कर्णालीमा कम
तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१,५६,३४,००६ जना), पहाडमा ४०.३१ प्रतिशत (१,१७,५७,६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७,७२,९४८ जना) जनसंख्या रहेको छ ।
प्रदेशगत रूपमा बाग्मती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ । यसैगरी, मधेस प्रदेशमा दोस्रो ठूलो जनसंख्या (२०.९७ प्रतिशत) रहेको छ ।
लुम्बिनीको जनसंख्या ५१ लाख २२ हजार ७८ रहँदा कोसी प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार ४ सय १२ रहेको छ । कर्णालीमा भने जनसंख्या १६ लाख ८८ हजार ४ सय १२ रहेको छ ।
साक्षरता दर ७६.३ प्रतिशत
देशका ५ वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ ।
६२.५ प्रतिशत जनता आर्थिक काममा संलग्न
१० वर्ष वा सोभन्दा बढी उमेरका २ करोड ३९ लाख ५८ हजार ८ सय ६८ जना व्यक्तिमध्ये १ करोड ४९ लाख ८३ हजार ३ सय १० (६२.५ प्रतिशत) जनाले गणना भएको १२ महिनाअघिको समयमा कुनै न कुनै आर्थिक काम गरेका छन् जसमध्ये ४१.० प्रतिशतले ६ महिना वा सोभन्दा बढी समय काम गरेको, २१.५ प्रतिशतले ६ महिनाभन्दा कम समय काम गरेको र ३७.५ प्रतिशतले कुनै पनि आर्थिक काम गरेका छैनन् ।
३३.१ प्रतिशत अविवाहित
नेपालमा १० वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्ति अविवाहित रहेका छन्, जसमा पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत छन् ।
त्यस्तै, १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिमध्ये ६१.८ प्रतिशत हाल विवाहित अवस्थामा छन् । हाल विवाहित पुरुष र महिला उनीहरूको कुल जनसंख्याको क्रमशः ५९.१ र ६४.३ प्रतिशत रहेका छन् ।
राष्ट्रिय जनगणना २०७८ को नतिजाले धेरैजसो व्यक्ति (३४.४ प्रतिशत)को पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको देखाएको छ । दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्ति २२.३ प्रतिशत छन् । १० वर्षमुनिको उमेरमा पहिलो विवाह भएका व्यक्ति ०.३ प्रतिशत छन् ।
२.२ प्रतिशत व्यक्ति अपांगता
कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपांगता रहेको पाइएको छ । अपांगता भएका व्यक्तिमध्ये पुरुष ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत छन् ।
दाउरा प्रयोग गर्ने जनसंख्या ५१ प्रतिशत
खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने परिवार ४४.३ तथा बिजुली, गुइँठा, बायोग्याँस, मट्टीतेल र अन्य इन्धन प्रयोग गर्ने क्रमशः ०.५, २.९, १.२, ०.०५ र ०.१ प्रतिशत छन् ।
१९.५ प्रतिशत जनसंख्या कम्तीमा १२ पास
नेपालको कुल जनसंख्याको १९.५ प्रतिशत व्यक्ति कम्तीमा १२ कक्षा उत्तीर्ण रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार १९.५ प्रतिशत जनसंख्या कम्तीमा एसईईभन्दा माथिल्लो तह उत्तीर्ण रहेको देखिएको हो ।
जनसंख्या बढी र कम भएका जिल्ला
काठमाडौंपछि ठूलो जनसंख्या भएको जिल्लामा मोरङ रहेको छ । मोरङ जिल्लाको जनसंख्या ११ लाख ४८ हजार १ सय ५६ रहेको छ । रूपन्देही जिल्लाको जनसंख्या ११ लाख २१ हजार ९ सय ५७ रहेको छ ।
झापाको जनसंख्या ९ लाख ९८ हजार ५४ रहेको छ । पाँचौं धेरै जनसंख्या भएको जिल्ला सुनसरीको जनसंख्या ९ लाख २६ हजार ९ सय ६२ रहेको छ ।
मनाङपछि दोस्रो कम जनसंख्या भएको जिल्लामा मुस्ताङ हो । मुस्ताङ जिल्लाको जनसंख्या १४ हजार ४ सय ५२ रहेको छ । डोल्पाको जनसंख्या ४२ हजार ७ सय ७४ रहेको छ । रसुवा जिल्लाको जनसंख्या ४६ हजार ६ सय ८९ रहेको छ । पाँचांै कम जनसंख्या भएको हुम्ला जिल्लाको जनसंख्या ५५ हजार ३ सय ९४ रहेको छ ।