• २०७९ माघ २५ गते बुधवार

आवश्यक परे तीनवटै सरकारी बैंकहरु मर्जरमा जान तयार हुनुपर्छ : गभर्नर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले सरकारी स्वामित्वका बैंकहरु पनि मर्जरमा जान तयार हुनुपर्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर अधिकारीले भने, ‘राष्ट्र बैंकको पछिल्लो मर्जर नीतिले बैंकहरुको पुँजी निर्माण ठुलो काम गरेको छ ।

यसले बैंकहरुको संख्या मात्र घटाएको छैन, समग्र वित्तीय क्षेत्रकै सुशासन र क्षमता वृद्धिमा उल्लेखनीय काम गरेको छ ।’ मर्जर नीतिलाई थप जोड दिँदै गभर्नर अधिकारीले भने, ‘बैंक तथा वित्तीय संस्थाहरुको मर्जर नीति निरन्तर प्रक्रिया हो । आवश्यक परे सरकारी स्वामित्वका तीनवटै वाणिज्य बैंकहरु पनि मर्जरका लागि तयार हुनुपर्छ’ गभर्नरले भने ।

सोही अवसरमा गभर्नर अधिकारीले राष्ट्र बैंकले लिने हरेक नीति मुलुकको समग्र अर्थतन्त्रको विकास र वित्तीय व्यवस्थापनकै लागि नै हुने बताए । गभर्नर अधिकारीले पछिल्लो समय मुलुकको आर्थिक स्थिति सहजातर्फ उन्मुख हुँदै गएको बताउँदै आयातमा लिइएको नियन्त्रणको नीति समेत खुकुलो गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस