असार ८, काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रभाव र बाँकी भू–भागमा न्यून चापीय प्रणालीको प्रभाव रहेकाको आज (शुक्रवार) देशभरको मौसम आंशिक देखि सामान्य बदली भई देशैभरी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार, आज दिउँसो कोशी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ–गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने छ ।
त्यस्तै,आज कोशी , मधेश , लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ । आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले सर्तकता अपनाउन महाशाखाले सचेत गराएको छ ।
हाल देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ ।