• २०८१ जेष्ठ ३१ गते बिहिवार

पीएम कप राष्ट्रिय महिला क्रिकेट : कोशी र एपीएफको लगातार दोस्रो जित

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष ६, काठमाडौं । पीएम कप राष्ट्रिय महिला क्रिकेटमा कोशी प्रदेश र एपीएफले लगातार दोस्रो जित निकालेका छन् ।
शुक्रबार कीर्तिपुर मैदानमा भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले हरायो ।

बागमतीले प्रस्तुत गरेको ८८ रनको लक्ष्य कोशीले मात्र २ विकेट गुमाएर पुरा गर्यो । कोशीको जितमा काजल श्रेष्ठ र अपसरी बेगमले समान ४१ रनको योगदान दिए । कप्तान रुबिना क्षेत्री २ रनमा आउट भएकी थिईन् । बागमतीका सोनी पाख्रिन र सस्कृति फुयालले समान एक एक विकेट झारेका थिए । सुरुवाती ब्याटिङ गरेको बागमतीले ८ विकेटको क्षतीमा ८७ रन बनाएको थियो । बागमतीका लागि यशोधा विष्टले ४१ र अश्मिना कर्मचार्यले २४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । कोशीकी अपसरी बेगम र सबनम राईले समान २ तथा संगिता राईले एक विकेट लिएकी थिईन् । कोशीले लगातार दुई खेलमा जित निकाल्दै लिग तालिकामा चार अंक जोडेको छ ।

कीर्तिपुर मैदानमै भएको दिनको दोस्रो खेलमा एपीएफले मधेश प्रदेशलाई १० विकेटले पराजित गर्यो । पहिलो खेलमा समेत सोही नतिजा निकालेको एपीएफले दोस्रो खेलमा समेत शानदार जित निकाल्यो ।

मधेशले प्रस्तुत गरेको ४० रनको सामान्य लक्ष्य एपीएफले ५ दशमलव ५ ओभरमा बिना विकेटको क्षतीमा पुरा गर्यो । एपीएफका लागि सिता रानामगरले १९ र ज्योति पाण्डेले १६ रनको योगदान गरे । पहिले ब्याटिङ गरेको मधेश प्रदेश ४ बल अगावै ४० रनमा अलआउट भएको थियो । प्रतिमा साहले १५ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

एपीएफकी सिता राना मगरले ३, रेखा रावल र सुमन विष्टले समान २ विकेट लिए । इन्दु वर्माले एक विकेट आफ्नो नाममा लेखाईन् । लगातार दोस्रो खेलमा फराकिलो जित निकाल्दै एपीएफले ४ अंक सहित शीर्ष स्थान कब्जा गरेको छ ।

प्रतिक्रिया दिनुहोस