असार ७, काठमाडौं । सत्तारुढ दलमा सामेल नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एसले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यथास्थितिमा बजेट पास गर्न नदिने निर्णय गरेको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
उनले भने, ‘यो बजेटमा भएको असन्तुलनको सवालमा हाम्रा सदस्यहरु सबैले कडाइका साथ कुरा उठाएका छन् । यथास्थितिमा यो बजेट पारित गर्न हुन्न भन्ने सबैले बोल्नुभएको छ ।’ उनले उक्त विषयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतलाई राख्न पार्टी अध्यक्ष माधव कुमार नेपाललाई आग्रह गरेको तथा गठबन्धन दलहरु सबैसंग छलफल गरेर बजेटबारे साझा धारणा बनाउँन प्रयत्न गर्ने बताए । उनले प्रधानमन्त्रीलाई भेटेरै बजेटबारे धारणा राखेको बताउँदै भने, ‘यथास्थितिमा यो बजेट पारित हुँदैन र यसमा परिवर्तन गरेर,असन्तुलन भएको कुरालाई सन्तुलित बनाएरै मात्रै यो बजेट पारित गर्न सकिन्छ ।’
बजेट बनाउनलाई भोट हाल्नेको संख्या १३८ जना भन्दा बढीले रहेकाले ती सबैले बजेटबारे आवश्यक स्थान र क्षेत्रमा सुधार गरेर भोट हाल्न सक्ने वातावरण बनाएर जाने हो भने सरकार नढल्ने तर बजेट पारित नभए सरकार संकटमा पर्ने टिप्पणी गरे । यथास्थितिमा बजेट पारित गर्न नदिने अडान नेकपा एसले कायमै राखेको उनको भनाई छ । सिमित मन्त्री र नेताको जिल्लामा पहुँचको आधारमा बजेट खन्याएको भन्दै नेकपा एस लगाएतका राजनीतिक दलले विरोध गर्दै आएका छन् ।