माघ ८, भक्तपुर। आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले आज सूर्यविनायक नगरपालिका–७ गुण्डु रातोपाटीबाट रिसालडाँडासम्मको हाइकिङ्ग कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय युवा संघ नेपाल पर्यटन विभागको आयोजना तथा संघ भक्तपुर जिल्लाको समन्वयमा आज बिहान ९ बजेबाट सुरु भएको हाइकिङ्गको नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गर्नुभएकाे हाे ।
उहाँले यहाँको पर्यटन विकास र सिढी निर्माणका लागि, सडक निर्माणका लागि आफू सांसद हुँदा बजेट ल्याएर सुरुवात गरि पूर्णता दिलाएको बताउदै यस क्षेत्रको मुख्य आधार धार्मिक पर्यटनको रुपमा बिकास गरेर लैजाने बताउनुभयो ।
कार्यक्रममा वाग्मति प्रदेश सदस्य किरण थापाले यहाँको पर्यटन विकासका लागि तीन तहकै सरकारले विगतमा लगानी गरेको बताउदै अब यस क्षेत्रलाई पर्यटन पूर्वाधार र बिकासका लागि थप बजेट ल्याएर काम गर्ने जिम्मेवारी आफूमा आएकाले त्यसलाई पुरा गर्ने बताउनु भयो । कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाललगायतले यहाँको पर्यटकीय गन्तव्यलाई पहिचान दिदै आन्तरिक पर्यटकको आकर्षण थप्न सकिने बताउनुभयो ।
रातोपाटीबाट सुरु भएको पर्यटन पदयात्रा एवं हाइकिङ्ग अनन्त कुण्ड, अनन्तलिङ्गेश्वर, महादेव खोला, कैलाश भ्यू टावर, होमस्टेहुदै रिसाल डाँडा पुगेर पहिलो चरणको पदयात्रा सम्पन्न भएकाे हाे।