असार ५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस, एमाले र माओवादीबीच कुनै फरक नभएको बताएका छन् ।मंगलबार काठमाडौंमा राप्रपाको महिला संगठनद्वारा आयोजित व्यक्तित्व विकास सम्बन्धि कार्यक्रममा अध्यक्ष लिङदेनले देश वर्वादीमा कांग्रेस, एमाले र माओवादीका नेताहरु मात्र नभइ उनीहरुले ल्याएको व्यवस्था पनि जिम्मेवार भएको बताए ।
उनले भने ‘यो देशमा कांग्रेस, एमाले र माओवादी असफल भएर केही हुँदैन् । उनीहरु जुन राजनीतिक आदर्शका साथ छन् अथवा राजनीतिक मुद्धालाई आदर्श मानेर हिडिरहेका छन् । आवरणमा फरक फरक भए पनि मुलमा उनीहरु एउटै छन्। यो देश वर्वाद हुनुमा अहिलेको नेताहरु मात्र जिम्मेवार छैनन की उनीहरुले ल्याएको व्यवस्था पनि जिम्मेवार छ । यसमा नेतृत्व मात्र हैन व्यवस्था पनि परिवर्तन गर्न जरुरी छ । ’अध्यक्ष लिङदेनले यो देशका लागि संघीयता, गणतन्त्र र धर्म निरपेक्षता उपयुक्त नभएको दोहोर्याउँदै यही व्यवस्था र अवस्था कायम रहे नेपालको र नेपाली जनताको प्रगति सम्भव नभएको बताए ।
उनले भने ‘ कांग्रेस, एमाले र माओवादीहरु यही व्यवस्थालाई सुधार गरेर यसैबाट हामी अगाडि बढ्न सक्छौंं भन्नेमा छन् । यही अवस्थाले उन्नति प्रगति हुन्छ भन्ने पक्षमा छन् । त्यसैले उनीहरु एउटा दल असफल भएर केही हुँदैन अर्को दलले त्यो मान्यतालाई अगाडि बोेकेर जान्छ । गणतन्त्र धर्म निरपेक्षता संघीयता जस्ता मुद्दाहरुमा हामी बाहेक सबै राजनीतिक दलहरु जेठोदेखि कान्छोसम्म एकै ठाउँमा छन् । उनीहरु एउटा असफल भयो भन्दैमा त्यो मुद्धा असफल भयो भन्न मिल्दैन । तर त्यो संंघीयता गणतन्त्र धर्म निरपेक्षता उपयुक्त छैन् । यसमा परिवर्तन नगरिकन नेपाली जनताको र नेपालको प्रगति सम्भव छैन । ’