• २०७९ माघ २५ गते बुधवार

रियाद अल स्टार्सविरुद्ध पीएसजीको जित 

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ ६, काठमाडौं । मैत्रिपूर्ण खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले साउदी अरबको रियाद अल स्टार्स ११ लाई ५–४ गोलको नतिजामा पराजित गरेको छ । मेसीले खेलको दोस्रो मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

खेलको ३१औं मिनेटमा पीएसजीका गोलकिपर किलोर नाभासले रियाद ११ का कप्तान रोनाल्डोलाई १८ यार्ड बक्सभित्र फाउल गरेपछि पाएकाे पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डोले ३४औं मिनेटमा बराबरी गोल फर्काएका थिए । लेफ्ट ब्याक जुवान बर्नाटले ३९औं मिनेटमा रातोकार्ड पाएपछि पीएसजी १० खेलाडीमा सिमित भएको थियो । किलियन एम्बाप्पेको क्रसमा गोल गर्दै मार्किन्योसले खेलको ४२औं मिनेटमा पुनः पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा नेइमार पेनाल्टीमा चुक्दा पीएसजीले अगता फराकिलो पार्ने अवसर खेर फालेको थियो । पहिलो हाफको इन्जुरी समयमै रोनाल्डोले पुनः बराबरी गोल फर्काउँदै खेललाइ २–२ को स्थितिमा ल्याएका थिए ।

सर्जियो रामोसले ५३औं मिनेटमा गोल गदै पीएसजीलाई ३–२ को अग्रता दिलाए । त्यसको तीन मिनेट नबित्दै रियाद ११ का हेयोन सो जाङले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए । एम्बाप्पेले ६०औं मिनेटमा पेनाल्टी मार्फत पीएसजीका लागि चौथो गोल गरे । हुगो इकिटिकीले ७८औं मिनेटमा गोल गर्दै पीएसजीको अग्रता ५–३ बनाएका थिए । रियाद ११ का एन्डर्सन टालिस्काले खेलको इन्जुरी समयमा गोल गर्दै खेललाई ५–४ को स्थितीमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस