मंसिर १, काठमाडौं । आजबाट विधिवत रुपमा छठ पर्व सुरु भएको छ । सूर्यको उपासना गरी मनाइने यो पर्वको आज नहाय खाय हो ।
चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज ब्रतालुले स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन ब्रतालुले प्रसादको रुपमा चामल, सक्खर र दूध मिसाएर बनाएको खीर खान्छन् । त्यसलाई खरना भन्दछन् ।
तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन हो । सो दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ । चौथा दिने बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत समापन हुन्छ । छठको मुख्य दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल आदि सूर्यलाई अर्घको रुपमा चढाउने गरिन्छ ।
अर्घ दिन ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्यलाई अघ्र्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।