भदौ ३१, काठमाडौं । सुन जस्तो धातु देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई YUEPENG GOLD 1 KILO Fine GOLD 999.9 Y185270 लेखिएको सुन जस्तो देखिने धातु सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१६ बालाजु क्षेत्रमा सुन जस्तो धातु देखाई ठगी भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बालाजुबाट उक्त धातुसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय विशुराम थपलिया, दोलखा बिगु गाउँपालिका-५ घर भई भक्तपुर नयाँ ठिमी बस्ने ३० वर्षीय भिमसेन बिक, काठमाडौं महानगरपालिका-३ लाजिम्पाट मिलन मार्ग बस्ने ३२ वर्षीय निरज महर्जन र सप्तरी सितापुर गाउँपालिका-८ इटहरुवा घर भई काठमाडौं जोरपाटी बस्ने ३४ वर्षीय दिलिप कुमार चौधरी रहेका छन् ।
यस्तै कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट सुन जस्तो देखिने पहेंलो धातु करिब २ सय ८० ग्राम २९ मिलिग्रामसहित झापा बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौ जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरूङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त चोकमा गुरूङ शंकास्पद अवस्थामा हिँडिरहेकी भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा शरीरमा लुकाई राखेको २ थानमा रहेको उक्त धातुसहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।