बैशाख ४, काठमाडौं । नयाँ शैक्षिकसत्र शुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ । गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ ।
सोमवार पाठ्यपुस्तक बिक्रीवितरण र छपाईको विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ । अनुगमनपश्चात जनक शिक्षा सामग्री केन्द्रका प्रवन्धक अनिलकुमार झाले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने गरी काम भइरहेको बताउनु भयो । उहाँले अहिलेसम्म ५९ जिल्लाका प्रत्येक विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको दाबी गर्नुभयो । उहाँले जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरु छपाईको काम सम्पन्न गरी बिक्रीवितरण गरिहेको जानकारी दिनुभयो । उहाँले गत चैत २४ गतेदेखि देशभर पाठ्यपुस्तक बिक्रीवितरण शुरु गरेको र हालसम्म ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पु¥याइ विद्यार्थीहरुलाई विवतरण गरेको बताउनु भयो । उहाँले अब बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म पुस्तक पुग्ने बताउनु भयो ।
प्रवन्धक झाले कतिपय विद्यालयहरुमा पुस्तक पुगिसकेको र कतिपय ढुवानीको क्रममा रहेको भन्दै बिक्रीवितरण गरेर ढुवानीको क्रममा रहेका पुस्तकहरु ३ दिन भित्रमा प्रत्येक विद्यालयमा पुग्ने उल्लेख गर्नुभयो । उहाँले ढुवानीमा समय लाग्ने हिमाली र पहाडी दुर्गम जिल्लाहरुलाई प्राथमिकतामा राखेर पुस्तक बिक्रीवितरण गरेको बताउनु भयो । उहाँले अहिले हिमाली जिल्लाहरुका सबै विद्यालयमा पुस्तकहरु पुगिसकेको दाबी गर्नुभयो ।