• २०७९ माघ २५ गते बुधवार

सभामुख उम्मेदवार छान्दै कांग्रेस–एमाले

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

माघ ३, काठमाडौं । प्रतिनिधिसभा सभामुखका लागि सत्तारूढ दल नेकपा एमाले र प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको संसद्कै ठूलो दल नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने अवस्था बन्दै गएको छ । सभामुख चयनका लागि बिहीबार मतदान गर्नेगरी संघीय संसद् सचिवालयले आज मंगलबार निर्वाचन कार्यक्रम प्रकाशित गर्दै छ ।

सचिवालयले सभामुख चयन प्रक्रियाका लागि तीन दिने कार्यक्रमसहित निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो । सभामुख चयन प्रक्रियामा प्रतिनिधिसभा सदस्यले मतदान गर्नेछन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज निर्वाचन कार्यक्रम प्रकाशित हुनेछ । भोलि बुधबार सभामुखका लागि उम्मेदवार मनोनयन दर्ता हुने छ । ‘पहिलो दिन सभामुख निर्वाचनका लागि सूचना जारी गर्ने, दोस्रो दिन उम्मेदवारी दर्ता र तेस्रो दिन मतदान गर्नेगरी कार्यक्रम सार्वजनिक गर्ने तयारी छ,’ संसद् सचिवालयका प्रवक्ता गिरीले भने । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यले आफूमध्येबाट एकलाई सभामुख चयन गर्नुपर्छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट २ सय ७५ सदस्य चयन भएका थिए ।

हाल प्रतिनिधिसभा अध्यक्षता ज्येष्ठ सदस्यको हैसियतले पशुपति शमशेर जबराले गर्दै आएका छन् । प्रतिनिधिसभाले सभामुख चयन नगर्दासम्म ज्येष्ठ सदस्यले नै संसद् सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ । यद्यपि, संसद् सुचारु भएको १५ दिनभित्र नयाँ सभामुख चयन गरिसक्नुपर्छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने उल्लेख छ ।

गत १० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिइसकेका छन् । उनलाई प्रतिनिधिसभामा उपस्थित २ सय ७० सदस्यमध्ये २ सय ६८ सदस्यले विश्वासको मत दिएका थिए ।

हाल सत्ता गठबन्धनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सात दल सहभागी छन् भने नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको मत दिएको थियो । तर, कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा रहने बताउँदै आएको छ । प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट ८९ सांसद छन् भने १ सांसद निलम्बनमा परेका छन् । सभामुख निर्वाचनमा भने सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एमालेले आफ्नोतर्फबाट उम्मेदवार उठाउने तयारी गर्दा कांग्रेसले पनि सभामुखमा उम्मेदवार खडा गर्ने योजना बनाएको छ । कांग्रेसले केही दिनअघि धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमार्फत सभामुखका लागि अन्य दलसँग छलफल गर्ने बताएको थियो ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखक कांग्रेसले सभामुखमा ‘कसलाई उम्मेदवार बनाउने ?’ भन्ने विषयमा आज मंगलबार टुंगो लाग्ने बताउ“छन् । ‘हामी छलफलमै छौं, कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो मंगलबार हुन्छ,’ कांग्रेस प्रमुख सचेतक लेखकले भने । एमालेले नेता पृथ्वी सुब्बा गुरुङलाई सभामुख उम्मेदवार बनाउने गरी भित्री तहमा छलफल गरिरहँदा कांग्रेसले भने ‘कसलाई उम्मेदवार बनाउने ?’ भन्ने विषय खुलाएको छैन । कांग्रेस स्रोतका अनुसार नेता अर्जुननरसिंह केसी, विमलेन्द्र निधि र ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखका लागि इच्छा देखाउँदै आएका छन् । हालको सत्तागठबन्धन बन्दा भने प्रतिनिधिसभाको पाँचवर्षे कार्यकालका लागि नेकपा एमाले र माओवादी केन्द्रबीच आधाआधा कार्यकाल सभामुख भागबन्डा गर्ने सहमति भएको बताइन्छ । सभामुखका लागि एक जनाको मात्रै मनोनयन परेको अवस्थामा भने प्रतिनिधिसभा बैठकमा समर्थकले बोलिसकेपछि ज्येष्ठ सदस्य जबराले सभामुखमा निर्विरोध निर्वाचित घोषणा गर्नेछन् ।

तर, एकभन्दा बढी उम्मेदवार भएको अवस्थामा दर्ता क्रमानुसार प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ । त्यसपछि ज्येष्ठ सदस्यले दुबै सभामुखको उम्मेदवारी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् । प्रतिनिधिसभाको कुल सदस्य संख्यामध्ये बहुमत ल्याउने उम्मेदवार सभामुख निर्वाचित हुनेछन् । सो व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम ५ मा उल्लेख छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस