• २०८१ चैत्र १३ गते बिहिवार

एकै दिन चार सदस्यको अध्यक्षता

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

मंसिर ३०, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको एक वर्ष पूरा भइसकेको छ । विषयगत समिति सभापति चयनको पनि चार महिना भइसकेको छ । तर सङ्घीय संसद्को संयुक्त समिति सभापति चयन अझै हुन सकेको छैन । दुईमध्ये एक समिति करिब निष्क्रिय छ । संसदीय सुनुवाइको संवैधानिक दायित्व पूरा गर्नुपर्ने संसदीय सुनुवाइ समिति पनि नेतृत्वविहीन छ । त्यसको प्रत्यक्ष असर समिति सञ्चालनमै परेको छ । जसको पछिल्लो उदाहरण हो– शुक्रबार सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ ।

शुक्रबार करिब चार घण्टाको बैठकमा चार पटक नै सभापति परिवर्तन भए । ज्येष्ठ सदस्यको रोलक्रम अनुसार चार पटक अध्यक्ष फेरिए । स्थायी सभापति चयन नहुँदा संसदीय सुनुवाइमा लगातार यो अभ्यास हुँदै आएको छ । सुनुवाइ समिति सभापति नेपाली कांग्रेसले पाउनेगरी भागबन्डा टुङ्गिए पनि चयन भएको छैन ।

शुक्रबार बैठकको प्रारम्भ ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गर्नुभयो । प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीसँगको सवालजवाफ चलिरहँदा सांसद जबरा शौचालय निस्किनुभयो । ५–७ मिनेटसम्म नआएपछि खोजी नै सुरु भयो । नआएपछि त्यसपछिका ज्येष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बैठक सञ्चालन गर्नुभयो । ज्येष्ठ सदस्य जबरा शौचालयबाट फर्किनुहुने भएकाले सांसद कार्की सभापति आसनको कुर्सीमा बस्न जानुभएन । तर एमाले सांसद महेश बर्तौलाले ‘सभाध्यक्षको कुर्सी खाली राखेर बैठक नचलाऔँ’ भनेपछि कार्की सभापति आसनमा बस्न जानुभयो ।

सांसद कार्कीले एमाले सांसद देवेन्द्र दाहाललाई बोल्ने अनुमति दिएलगत्तै सांसद जबरा बैठक कक्षमा प्रवेश गर्नुभयो । तत्कालै कार्कीले आसन छाड्नुभयो । सुनुवाइ जारी रहँदा सांसद जबरा पुनः बैठकबाट निस्किनुभयो । त्यसपछि पुनः कार्कीले सभापतित्व गर्नुभयो । केही क्षणको सुनुवाइपछि कार्कीसहितका अन्य कांग्रेस सांसद बाहिर निस्किनुभयो । उमेरका हिसाबले बैठकको सभापतित्वको जिम्मेवारी एमाले सांसद देवेन्द्र दाहालको काँधमा आयो ।

प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानको सुनुवाइ प्रारम्भसँगै सांसद दाहाल पनि बैठकबाट बाहिरिनुभयो । त्यसपछि सभापतित्व गर्ने पालो आयो कांगे्रस सांसद ईश्वरी न्यौपानेको । सांसद न्यौपानले अध्यक्षता गरेपछि एमाले सांसद बर्तौलाले ठट्टा गर्न नै भ्याउनुभयो, “आज त उमेरले पछिल्लो श्रेणीमा रहेका एक, दुई जनाबाहेक सबैको पालो पुग्छ कि क्या हो ?”सांसद बर्तौलाको ठट्टापछि संसद्का कार्यवाहक महासचिव एवं समिति सचिव पद्मप्रसाद पाण्डेले थप्नुभयो, “म पनि हिसाब गरिरहेको छु । अब जगप्रसाद शर्मा र उहाँ निस्किनुभयो भने त डिपी अर्यालको पो सभापति बन्ने पालो आउने छ ।”

समिति सभापतित्वको चक्र मात्र समितिमा चलेन सुनुवाइमा अन्तिममा प्रस्तावित पदाधिकारी मात्र बाँकी हुन्छन् कि भन्ने रोचक व्यङ्ग्य नै चल्यो । दोस्रो पटक बैठकबाट बाहिरिने क्रममा कांग्रेस सांसद रमेश लेखकले प्रस्तावित न्यायाधीश मुसलमानलाई भन्नुभयो, “श्रीमान्ले अलि सङ्क्षिप्त नै गर्नुप¥यो । नभए त यहाँ तपाईं मात्र बाँकी रहनुहोला कि भन्ने भयो ।” ठट्टा गर्दै सांसद लेखक बैठकबाट बाहिरिनुभयो ।

सुरुवातामा ज्येष्ठ सदस्यसहित ११ जना उपस्थित समितिमा अन्तिममा ज्येष्ठ सदस्यसहित पाँच जना मात्र बाँकी रहनुभयो । बैठकको अन्त्यसम्म सभापतित्व गर्नुभएकी ईश्वरी न्यौपाने र सदस्यहरू महेश बर्तौला, ईश्वरी घर्ती, जगप्रसाद शर्मा र डीपी अर्याल हुनुहुन्थ्यो । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस