• २०८१ चैत्र १२ गते बुधवार

अवैध सट्टेवाजीलाई प्रोत्साहन गरेको आरोपमा ‘बल्छी ध्रुबे’ र ‘राजु मास्टर’सहित ८ पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ३२, काठमाडौं । अवैध सट्टेवाजीलाई प्रोत्साहन गर्ने गरी विज्ञापन गरेको अभियोगमा चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ र ‘राजु मास्टर’ भनिने राजु पौडेलसहित ८ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा ‘बल्छी ध्रुबे’ र ‘राजु मास्टर’सहित ८ जनालाई पक्राउ गरिएको हो ।

उनीहरुले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ । पक्राउ परेका उनीहरूमाथि अहिले सोधपुछ चलिरहेको र थप अनुसन्धान भईरहेको बताईएको छ।

बुधबार मात्र कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्कालाई विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टकोरुपमा सक्रिय भएको आरोपमा पक्राउ गरिएको थियो । उनले ६३ वटा खाता खोलेर ६४ करोडको अवैध कारोबार गरेको फेला परेको थियो ।

उनीहरूलाई सट्टेबाजी गर्न वा गराउन नहुने कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

कार्यालयले अनलाइन सट्टेबाजी प्लेटफर्म वनएक्स बेटकाे प्रचारमा संलग्न आठ कलाकार तथा युट्युबरलाई बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) पवन खतिवडा (म्याकुरी) अलिस राई, जलन घर्तिमगर (जलन), गणेश देवकोटा (गणेश जीडी), सरोज घिमिरे (ढेडु बुढो) र ‍बेगम नेपाली (भटभटे माइला) रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस