जेठ ३१, दैलेख। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन् । बुधबार दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा सम्बोधनपश्चात् प्रधानमन्त्री उक्त क्षेत्रमा पुगेका हुन् ।
अवलोकन र निरीक्षणका क्रममा प्रधानमन्त्रीले ग्यास उत्खनन र यससँग सम्बन्धित विषयको जानकारीसमेत लिए । निरीक्षण अघि प्रधानमन्त्री प्रचण्डले दैलेखको दुल्लुस्थित दहगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए । दाहाल, लम्साल, रूपाखेती, कुंवर र राणा वंशका कुल शिरोमणि दाशुको शालिक अनावरण तथा गुरूयोजना सार्वजनिक कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गरे ।
उनले आफ्नो दोस्रो कार्यकाल देशका लागि परिणामुखी भएको स्मरण गर्दै तेस्रो कार्यकाल इतिहासकै सफल कार्यकाल बनाउन सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित सरकार अगाडि बढिरहेको पनि बताए ।