फागुन ३०, काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हराउँदै मछिन्द्रले पहिलो जित निकालेको हो ।
मछिन्द्रको जितमा डेब्यु खेलाडी आफिज ओलावालेले दुई गोल गरे । पुलिसका अन्जन राईले एक गोल गरे । मछिन्द्रले एक गोलको अग्रता उल्टाएर पुलिसविरुद्ध जित निकालेको हो । खेलको नवौं मिनेटमा अन्जनले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । रबि पासवानको क्रसमा अन्जनले हेडरमार्फत गोल गरे । तर, खेलको २० औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई १-१ गोलको बराबरीमा ल्याए । अविशेक गुरुङको प्रहार पुलिसका गोलकिपर संजित श्रेष्ठले रोकेपछि आएको रिबाउन्डमा ओलावालेले गोल गरे । त्यसपछि खेलको ४० औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २-१ को जित दिलाए ।
यस जितसँगै मछिन्द्रले ४ खेलमा ४ अंक जोडेको छ । मछिन्द्र ११ औं स्थानमा उक्लिएको छ । पुछारमा रहेको पुलिसको यो लगातार चौंथो हार हो । पुलिसले ४ खेलमा अंक जोड्ने सकेको छैन ।