कात्तिक २७, गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिवार राती घर आगलागी हुदाँ जलेर आमा छोराको मृत्यु भएको छ । ७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुदाँ उनी र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार राती दश बजे खवर आएको भएपनि घटनास्थल पुग्दा घरको बाहिरै भागमा समेत आगो फैलिसकेको थियाे । गाग्री र बाल्टीमा पानी बोकेर आगो निभाउन करिव डेढ घण्टा लागेको थियाे । आगो नियन्त्रण पश्चात घरभित्र पस्दा दुवै जनाको शव जलेर चिन्नै नसक्ने अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।
चिसोका कारण न्यानो बनाउँन फुकेको आगो फैलिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।