• २०८१ चैत्र ३ गते सोमवार

‘हिरोईजमले मात्रै मुलुक चल्दैन’ : बास्कोटा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २४, काभ्रे। नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नयाँ नयाँ हिरोईजमले मात्रै मुलुक नचल्ने बताएका छन् । धुलिखेलमा आयोजित एमालेको चियापान कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य बास्कोटाले साधारण मान्छेहरुका लागि लोकतन्त्र भएकाले दल खोलेर चुनाव लड्ने बाहेक चिहानमा पुगेको संस्था र व्यक्तिबाट मुलुकको नेतृत्व असम्भव रहेको बताए ।

गठबन्धन सरकारले नागरिकहरुका समस्यामा ध्यान नदिएको बताउँदै गठबन्धन सरकार रहँदासम्म मुलुक ओरालो लाग्ने बास्कोटाले बताए । ‘राष्ट्रियताका सवालमा समेत गठबन्धन दल र सरकार बोल्न सक्दैनन’–एमाले पोलिटब्युरो सदस्य बास्कोटाले भने–‘अराजकता फैलाएर उत्तेजित बनाउँदैमा समाज निर्माण हुन सक्दैन । कोहि पनि अराजकताबाट उद्वेलित हुनु जरुरी छैन ।’

सामाजिक सञ्जाल ब्यवस्थापनका लागि सरकारले ल्याउन लागेको कानूनका सन्दर्भमा पूर्व संचारमन्त्री समेत रहेका बास्कोटाले हिजो विरोध गर्नेहरुलाई नै आज कानुन आवश्यक भएको ब्यगं गरे । ‘हिजो चारहात माथि उफ्रेर विरोध गर्नेहरुलाई नै आज कानुन चाहिएको छ’–बास्कोटाले भने–‘कोहि उफ्रदैमा मुलुकमा प्राप्त भएको लोकतन्त्र खतरामा पर्दैन ।’

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं जिल्ला इन्जार्च कर्ण राई, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, नगर अध्यक्ष दयाराम महत र नगर सचिव विष्णु धितालले एमालेले शुरु गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमले एमालेले लिएका विचार र कार्यक्रमहरु कार्यकर्ताको तहसम्म लैजान सहज हुने बताए । कार्यक्रममा विभिन्न तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस