कात्तिक २४, काठमाडौँ। वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । विश्व मुटु दिवसको अवसर पारेर डा. ओम मूर्ति अनिलले २९ सेप्टेम्बर २०२३ (तद्नुसार २०८० असोज १२ गते शुक्रबार) आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका हुन् ।
फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा डा. ओम मूर्ति अनिलले गिनिज वल्र्ड रेकर्डस् कायम गरेका हुन् ।
गत असोज १२ गते साँझ ७ : १५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ सय जनाले एकैपटक प्रत्यक्ष (लाइभ) हेरेका थिए । आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा देश र विदेशमा बस्ने नेपालीहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका थिए ।
डा. ओम मूर्ति अनिलको ३० मिनेट लामो उक्त फेसबुक लाइभलाई ९ हजार जनाले शेयर गरेका थिए । त्यसक्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएका थिए । फेसबुक लाइभ प्रस्तुति सम्पन्न हुँदासम्म १ लाख ५० जनाले हेरेका थिए । लाइभ प्रस्तुतिपछि ‘गिनिज वल्र्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम भएको दाबी पेश गरेका थिए । यद्यपि, डा. ओम मूर्ति अनिललाई गिनिज वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गर्न भने केही समय लागेको थियो ।
प्रमाणपत्र प्राप्त भएपछि शुक्रबार पत्रकार सम्मेलन गरेर उनले जानकारी दिएका हुन् ।
व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस रेकर्डले संसारभरका मानिसको लागि प्रेरणाको स्रोत सावित हुने आशा गरिएको छ । सामाजिक उत्थान र समाजप्रतिको जिम्मेवारीबोध गराउने यस्तो कार्यले आममानिसलाई मार्गदर्शनसमेत हुने विश्वास छ ।
यो रेकर्डले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय रहेको उनी बताउँछन्। यस अघि वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलले दोश्रो विश्व रेकर्ड मार्च २०२३ मा बनाएका थिए । उनी स्वास्थ्य सचेतनामा २ वटा विश्व रिकर्ड बनाउने संभवतः संसारकै एक्लो चिकित्सक हुन् । विश्व रेकर्ड कायम गरेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल नेशनल कार्डियक सेन्टरका संस्थापक समेत हुन्। उनले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि सामाजिक सञ्जाल फेसबुक पेज मार्फत जनचेतनामूलक अभियान जारी गर्दै आएका छन् ।