जेठ २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग, विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष श्री मार्टिन रेजरले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री प्रण्चण्डले विश्व बैंक र नेपालको ६ दशक लामो सहकार्यको स्मरण गर्दै नेपालले विकास प्रक्रियामा भोग्नु परेका जलवायुजन्य चुनौतीहरु र हरित विकासका सम्भावना बारे कुराकानी गराएका थिए ।
विश्व बैंकले नेपालको आर्थिक सामाजिक र जलविद्युतको विकासको लागि वित्त व्यवस्थापनमा खलेको भूमिकाका लागि प्रधानमन्त्रीले खुसी व्यक्त गरेका छन् । माथिल्लो अरुण आयोजनाको लागि विश्व बैंकले वित्तीय स्रोत जुटाउन बहन गरेको समन्वयकारी पहलको लागि धन्यवाद दिंदै प्रधानमन्त्रीले नेपाल सरकारको प्राथमिकतामा रहेको सो आयोजना कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गरिँदा अन्य आयोजनाहरुमा स्रोतको कमी हुन नदिने तर्फ ध्यानाकर्षण गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा बैंकका उपाध्यक्ष श्री मार्टिनले नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्दो सहयोग गर्न विश्व बैंक सधै तत्पर रहेको बताउँदै उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्न सुझाव दिएका छन् । उनले सुधारका क्षेत्रमा हातेमालो गर्न विश्व बैक सधै अग्रसर हुने प्रतिबद्धता जनाएको बताइएको छ ।
सो अवसरमा विश्व वैंकका तर्फबाट पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष श्री वांग्जी चेन, उपक्षेत्रीय निर्देशक श्री फारिस हद्दाद जर्भोस लगायत विश्व बैंक तथा अर्थ मन्त्रालयका अधिकारीहरुको समेत उपस्थिति थिए ।