• २०८० मङ्सिर १९ गते मङ्गलवार

सर्लाहीको धनकौल गाउँपालिकाका एक वडाध्यक्ष कारागार चलान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २२, सर्लाही। धनकौल गाउँपालिकाका स्थानीय तह निर्वाचन–२०७९ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित वडाध्यक्ष पुर्पक्षमा कारागार चलान भएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले ज्यान मार्ने उद्योगमा धनकौल गाउँपालिका–५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको हो ।

केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा महतो समेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योगमा मुद्दा दायर भएको थियो । मुद्दा दायर भएदेखि फरार रहेका महतो मङ्गलबार आफै अदालतमा उपस्थित भएका थिए । न्यायाधीश थापाको इजलासले मुद्दाको अन्तिम फैसला नआउन्जेल वडाध्यक्ष महतोलाई पुर्पक्षमा कारागार पठाउने आदेश गरेको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो ।

अदालतको आदेश अनुसार महतोलाई गौर कारागार, रौतहट चलान गर्ने तयारी गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।

यस मुद्दामा अन्य केही व्यक्तिलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । ती व्यक्तिहरू फरार रहेका र तीनको खोजी जारी रहेको डिएसपी थारुले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस