• २०८१ चैत्र ३ गते सोमवार

मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने चालक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २२, गोरखा  ।मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने चालकलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ ।  गोरखाको गोरखा नगरपालिका–८ प्रतीक्षालय स्थित सडक खण्डमा सोही ठाउँ नजिकैको आहाले बस्ने वर्ष ६० को हरिशरण गोदारलाई नियन्त्रण लिएको हाे ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार गोदारले चलाएको ग.२ च. ७४९४ नं. को एम्बुलेन्सले विपरीत दिशाबाट आएको ना. ५ च. २४५४ नं.को बलेरो जिपलाई सोमबार ठक्कर दिई दुर्घटना भएकाे थियो । एम्बुलेन्स चालक गोदारले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरी सवारी चलाएको खुल्न आएको तथा सोधपुछको क्रममा बलेरो जिप चालक विकास भट्टलाई धाक–धम्की दिई अभद्र व्यवहार गरेकोले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटनामा जाहेरी दरखास्त प्राप्त भई मादक पदार्थ सेवन गरी सवारी दुर्घटना गराउने र अभद्र व्यवहार गर्ने गोदारलाई पक्राउ गरी मङ्गलबार निज विरुद्ध सार्वजनिक हित विरुद्धको कसुर शीर्षकमा मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस