• २०८१ चैत्र ३ गते सोमवार

गृहमन्त्रीले हटाए अगुवापछुवा गाडी

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

पौष २३, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवापछुवा गाडी हटाएका छन् । गृहमन्त्री लामिछानेले ‘आफूमात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने’ बताउँदै आफ्नो अगुवापछुवामा हुने सुरक्षा टोली हटाएका हुन् ।

गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर उनले प्रहरी नायब निरीक्षक (सई)को नेतृत्वको सुरक्षाकर्मी राखेका छन् । ‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारी क्रममा रहने अगुवापछुवा सुरक्षाकर्मीसहितको गाडी हटाएर मैले आजैबाट अगाडि एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भैपरि आउदाको परिस्थितिलाई अपवाद मानिदिनुहोला,’ शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले स्पष्ट पारेका छन् ।

उनले आफू सधैं ट्राफिक बत्तीमा लाइन बसेर नै यात्रा गर्ने जनाएका छन् । ‘सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउनेमा प्रतिबद्ध छु । कुनै अकाट्य परिस्थिति आइपर्दाबाहेक म आङ्खनो कार्यकालभर नै यी नियम पालना गर्छु,’ उनले भनेका छन् । साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृत्तिको आलोचक भएको बताउँदै लामिछानेले आकस्मिक अवस्थाबाहेक आफूबाट त्यस्तो गतिविधि नहुने जानकारी गराएका छन् ।व्यक्तिगत कामका लागि कतै जानु परे वा बिदाका दिन हिँड्नुपरे निजी सवारीसाधन प्रयोग गर्ने उनले बताएका छन् । ‘यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नुपरेमा त्यसको हिसाब राज्यलाई बुझाउने छु,’ उनले भनेका छन् ।

सामाजिक सञ्जाल फेसबुक स्ट्याटस

नागरिकलाई सुरक्षित महसुश हुने वातावरण निर्माण गर्ने निकाय हो गृह प्रशासन। म यसको नेतृत्वमा रहँदा, म मात्र उच्च सुरक्षा घेरामा हिडडुल गरेर नागरिकको अपेक्षा पुरा हुँदैन । म मेरो भन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ । म आफुले बोलेका कुरा इमान्दारिताका साथ पुरा गर्नेछु।
-उपप्रधानमन्त्री एंव गृहमन्त्रीको नियुक्ति लगत्तै मैले मेरो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरिक्षक (सई)को नेतृत्व सुरक्षाकर्मी राखेको छु ।
-उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा-पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडी एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भै परि आउदाको परिस्थितिलाई अपबाद मानिदिनु होला।
-सडक नियमको पुर्ण पालना सबैले गर्नुपर्छ भनेर नियम लागु गराउने निकायको नेतृत्व गर्ने म सधै ट्राफिक वत्तिमा लाईन बसेर नै यात्रा गर्छु र सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिवद्ध छु। कुनै अकाट्य परिस्थिति आइ पर्दा बाहेक म आफनो कार्यकाल भरी नै यी नियम पालना गर्छु।
-साईरन बजाएर नागरिकलाई उछिन्दै हिड्ने प्रवृतिको म सधै आलोचक हुँ,आकस्मिक अवस्थामा बाहेक मबाट यस्तो गतिविधि हुँदैन।
-व्यक्तिगत कामकालागि कतै जानु परेमा वा विदाका दिनमा म आफ्नै सवारीसाधन प्रयोग गर्छु र यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नु परेमा त्यसको हिसाव राज्यलाई बुझाउने छु।

No description available.

प्रतिक्रिया दिनुहोस