• २०८१ चैत्र १० गते सोमवार

नेपालद्वारा यूएई पराजित

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन २२, काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई पराजित गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल ४२ रनले विजयी भएको हो ।


नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अल आउट हुँदै १ सय ८७ रन मात्र बनायो । यूएईका लागि ओपनर मुहम्मद वासिम शुन्य रनमा आउट भएका थिए । अर्का ओपनर आसिफ खानले ८२ रन बनाए ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको हो । नेपालका लागि भिम सार्कीले ९९ बलमा ७० रन बनाए । भिमले ७ चौका प्रहार गरेका थिए । आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्ल ३२ रनमा आउट भए । सन्दीप लामिछानेले २७ रन बनाउँदा करण केसीले १७ रन बनाए ।

यूएईका लागि जुनेद सिद्धिकीले ३ तथा आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २/२ विकेट लिए । यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो ।

२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो । नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकमा रहेको छ । नेपाल अंक तालिकाको पाँचौ स्थानमा छ । युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस