कात्तिक १९, काठमाडौं । टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने सामग्री पोस्ट भए स्वतः हट्ने भएकाे छ । अब टिकटकबाट अश्लील खालका गतिविधि तथा सामग्री हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउन सहज हुने गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालय, साइबर ब्युरोलगायत सरकारी निकाय र टिकटकको कार्यालय सिंगापुरबीच भएको छलफलपछि यस्ता सामग्री हट्ने भएको हो । गृह मन्त्रालयमा शुक्रबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकायलगायत सरकारी निकाय एवं टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी थिए ।
सामाजिक सञ्जालमार्फत गैरकानुनी कार्य गर्नेमाथि निगरानी भइरहेकाले कानुनी कारबाहीबाट बच्न जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न गृहले आग्रह गरेको छ । जिम्मेवार नागरिकका रुपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गर्न गृह प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।