आज वि.सं. २०८० मङ्सिर १८ गते सोमवार तदनुसार ई. सं. २०२३ डिसेम्बर ०४ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, चन्द्रास्त : दिउँसो ११:१० बजे र चन्द्रोदय : बेलुका १०:४२ बजे, सूर्योदय : बिहान ०६:४० बजे र सूर्यास्त : साँझ ०५:०७ बजे, मार्गशीर्ष कृष्णपक्ष (कछलागा) सप्तमी तिथि, बेलुका ०८:५६ बजेसम्म, त्यसपछि अष्टमी तिथि, मघा नक्षत्र, मध्यरात्रीपछि १२:२६ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुने महत्त्वपूर्ण दिन हो । ज्ञान, आत्मबल र सामर्थ्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूर्ण उपलब्धिको बाटोसमेत खुल्नेछ । कल्पना र भावनामा रुमल्लिन सकिन्छ, तर आज कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
वैचारिक अस्थिरता देखिने छ । प्रसन्नता प्राप्त गर्न धौधौ हुन्छ । वैचारिक र मानसिक सन्तुलन कायम राख्ने कोसिस गर्नुपर्छ । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला । रचनात्मक स्वभावले मानिसहरूलाई प्रभावित गर्न सक्नुहुन्छ । असत्य बोल्ने जोसुकैलाई पनि कहिल्यै पनि विश्वास नगर्नुहोला, साथै आफूलाई विश्वास गर्ने व्यक्तिलाई कहिल्यै नढाँट्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ । तर तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो । प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो, त्यस्तै तपाईंमा दिकदारी र चिडचिडेपन पनि हाबी हुनसक्छ । अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कामको चापबाट फुर्सद पाइने राम्रै दिन छ, तर सचेत हुनुहोला, गलत काम र दुर्जन व्यक्तिको विश्वासमा पर्दा इज्जतमा दाग लाग्नसक्छ । कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कार्यक्षेत्रमा गज्जबले समय व्यतीत हुनेछ, अझ राम्रो होस् भन्ने उद्देश्यले कुनै दुःखीलाई सहयोग गर्नु वा कुनै धार्मिक क्षेत्रमा दान गर्नु राम्रो हुन्छ । प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्ने समय हो, तर काम बाँकी राखी अल्छी गरेमा आफैंलाई लोड बढ्नेछ भनी होस राख्नुपर्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ । आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ । आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । व्यक्तित्व विकासका निमित्त राम्रो अवसर प्राप्त हुनेछ ।