जेठ १८, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गुण्डागर्दी र अराजकता मच्चाउने कार्य रोक्न चेतावनी दिएका छन् । बिहीवार काठमाडौंमा युवा संघ नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले हिजो आयोजित एक कार्यक्रममा आफूमाथि अपमान भएको भन्दै उनले आपत्ति जनाए ।
उनले उनले भने,‘ गुण्डागर्दी गर्ने काम बन्द गर । बन्द गर्दैनौ भने तिमीहरुका कुनै पनि कार्यक्रम हामी देशव्यापी एउटा पनि हुन दिदैनौँ । यो कुरा सुनिराख । ज्ञानेन्द्र शाहले सुन्न ुपर्ने कुरा हो यो । म ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु । तिम्रा यी स–साना सेनालाई मैले भन्नुपर्ने छैन ।’ आफूलाई गरेको अपमानको बदला लिने भन्दै उनले भने,‘ तिनीहरुले टिट फर ट्याट पाउँछन् । जहाँ जे गर्छन्, त्यही फिर्ता लिनुपर्ने स्थिति आउँछ । तर, ज्ञानेन्द्र शाहलाई भन्छु, खबरदार, यदि गुण्डागर्दी गर्ने, अराजकता मच्चाउने इच्छा छ भने यो इच्छा पूरा हुनेवाला छैन । अहिले नै हिसाबकिताब हुन्छ ।’
खनालले पञ्चायतकालमा लोकतन्त्रका लागि, राष्ट्रियताका लागि, न्यायका लागि लड्नेहरुका विरुद्धका मण्डलेहरु ब्युँताउन कोसिस भएको टिप्पणी गरे । उनले पूर्वराजा शाहले समाजमा भाँडभैलो मच्चाउन कोसिस गरेको भन्दै राप्रपा पार्टीको अध्यक्ष बनेर वा अर्को पार्टी खोलेर आफूहरुसँग प्रतिस्पर्धामा आउन चुनौती दिए ।