• २०८० फाल्गुन १० गते बिहिवार

एसीसी प्रिमियर कप फाइनल- आज खेल हुन नसके भोलि ९ विकेटबाटै सुरु हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख १८, काठमाडौँ ।  एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण अवरुद्ध भइरहेको छ । मौसमको अवस्था हेर्दा आज परिणाम आउनेमा विश्वस्त हुने स्थिति छैन ।

नेपालले यूएईको नवौं विकेट लिइसकेपछि खेल रोकिएको हो । नेपालका बलरहरु पूर्णरुपमा हावी भइरहँदा यूएई झिनो रनमा समेटिने अस्वस्था थियो । खेल रोकिनुअघि यूएईले २७.३ ओभरमा १०६ रन मात्रै जोड्न सकेको छ ।

यदि आज खेल हुन सकेन भने भोलिलाई रिजर्भ डे राखिएको छ । धेरै समर्थकहरुको चासो छ, भोलि फेरि खेल हुँदा आज नेपालले लिएका ९ विकेट के हुन्छन् ?

क्यानका प्रवक्ता दुर्गा पाठकले अहिलेको नियम अनुसार आज पूरा खेल हुन नसकेको खण्डमा भोलि खेल सुचारु हुने बताए ।

‘आज खेल जुन स्थितिमा छ, त्यहीँबाट सुचारु हुन्छ । सुरुबाट हुँदैन,’ उनले भने ।

अर्थात् भोलि २७.४ बलबाट पहिलो इनिङको खेल सुचारु हुने छ र यूएईको अन्तिम जोडी कात्र्तिक मियाप्पन र जुनैद सिद्दकी क्रिजमा आउनेछन् । बलिङको सुरुवात ललित राजवंशीले नै गर्ने छन्, जसले आफ्नो पाचौं ओभरको चौंथो बल फ्याकेपछि खेल रोकिएको थियो । खेल रोकिनुअघि ललितले लगातार बलमा दुई विकेट लिएका थिए । त्यसैले उनीसँग आफ्नो ह्याट्रिक पूरा गर्दा यूएईलाई अलआउट गर्ने अवसर हुने छ ।

तर, यदि आज मौसम उघ्रिएको खण्डमा अम्पायरहरुले ओभर छोट्याउने र टार्गेट पनि समायोजन गर्ने निर्णय लिन सक्छन् ।

उदाहरणका लागि २० ओभरका बलिङ हटाइयो भने नेपाललाई ३० ओभरमा यूएईले खडा गरेको भन्दा थोरै स्कोर पछ्याउन लगाउने छन् ।

तेस्रो विकल्प भनेको सुपरओभरबाट पनि निर्णय हुन सक्छ । क्यानले यदि खेल अनिर्णयत भएमा दुईवटा सुपरओभर हुन सक्ने जनाएको छ ।

यसमा दुवै टिमले एक–ओभर बलिङ र ब्याटिङ गर्न पाउँछन् । जसले बढी रन बनाउँछ उही विजेता बन्छ । सुपर ओभरमा जानु भनेको कमजोर अवस्थामा रहेको यूएईले शून्यबाटै अवसर पाउनु हो । नेपालले अहिलेसम्म गरेको बलिङ खेर जानु हो ।

भोलि पनि वर्षाले खेल विथोलेमा अम्पायरहरुले डीएल मेथडका आधारमा ओभर छोट्याएर नेपाललाई नयाँ टार्गेट दिन सक्छन् । त्यो पनि सम्भव नभए सुपरओभरबाट फैसला हुन्छ । र, यदि त्यो पनि सम्भव नभएमा नेपाल स्वत विश्व एकदिवसीय वरियताका आधारमा एसिया कपका लागि छनोट हुन्छ । एकदिवसीय वरियतामा नेपाल यूएईभन्दा अगाडि छ ।

प्रतिक्रिया दिनुहोस