• २०८१ असोज २४ गते बिहिवार

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा थपिए केपी ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ १७, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य नियुक्त भएका छन्।मंगलबार संसद बैठकले एमाले अध्यक्ष ओलीसहित उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्यमा थप्ने प्रस्ताव स्वीकृत गरेको हाे ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमालेकै डा. भीम रावलदेखि कांग्रेस सचेतक पुष्पा भुसाल, प्रकाशमान सिंह, सुजाता कोइराला, प्रदीप गिरी सदस्य छन्। सभापति भने एमाले सांसदसमेत रहेकी पवित्रा निरौला (खरेल) रहेकी छन्। २२ सदस्य रहेको समितिमा सभापतिसहित एमालेबाट ७ जना सदस्य छन्। अध्यक्ष ओलीसहित तीन जना थपिएकोमा एमालेबाट सदस्य रहेका सांसदहरु हेरफेर हुनेछन्।

बजेटमाथि छलफल भइरहेको संसदको पहिलो दिनको बैठकको अन्तिमतिर सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित प्रतिनिधिसभा अन्तर्गतको विभिन्न समिति सदस्य थप तथा हेरफेर गर्न सहमतिका लागि प्रस्ताव गरेका थिए। प्रस्तावलाई संसद सदस्यहरुले सहमति प्रदान गरेका थिए।

सहमति प्रदान गरेका समितिअन्तर्गत अर्थ समितिमा विष्णु पौडेल, हृदेयश त्रिपाठी र मीनेन्द्र रिजाल थपिएका छन्। उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा लिलानाथ श्रेष्ठ र नवराज रावत थपिएका छन्। कानुन न्याय तथा मानव अधिकार समितिमा जुली कुमारी महतो र भानुभक्त ढकाल थपिएका छन्। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा पार्वत गुरुङ, राज्य व्यवस्था तथा सुशासन समितिमा कृष्णगोपाल श्रेष्ठ, विकास तथा प्रविधि समितिमा वसन्त कुमार नेम्वाङ, पदमा कुमारी अर्याल थपिएका छन्।

शिक्षा तथा स्वास्थ्य समितिमा जगतबहादुर सुनार, सार्वजनिक लेखा समितिमा शिवमाया तुम्बाहाम्फे, गणेश सिंह ठगुन्ना थपिएका छन्। संसद बैठकले कार्य व्यवस्था परामर्श समितिको सदस्यमा पनि हेरफेर गरेको छ।

प्रतिक्रिया दिनुहोस