असोज १४, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई असफलतातर्फ धकेल्न नहुनेमा जोड दिएका छन् । आज भिडियो सन्देशमार्फत् दशैँको शुभकामना व्यक्त गर्दै उनले अहिले देशको राष्ट्रियता र इतिहास सर्वाधिक सङ्कटापन्न स्थितिमा रहेको समेत उल्लेख गरेका छन् ।
डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको भन्दै उनले नागरिकको दैनिक जीवन नै अहिले सकसपूर्ण बनेको बताका छन् । नेपाल निरन्तर विदेशीहरूको क्रिडाभूमि बनेको र अहिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाभित्र विवाद, विग्रह र विकृतिप्रति सर्वत्र प्रश्न उठेको टिप्पणी समेत गरेका छन् ।
पदलोभ, सत्तास्वार्थ र सुविधा भोगका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र नागरिकको हालत के होला ? उनले प्रश्न गरेका छन् । उनले भनेका छन् , ‘राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरू र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चाहना परिपूर्ति गर्न नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन् ।’