• २०८१ बैशाख ७ गते शुक्रवार

माता पाथिभराको दर्शन गरि दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

वि.सं. २०७८ चैत्र १६ गते बुधवार तदनुसार ई. सं. २०२२ मार्च ३० तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (चिल्लागा), नेपालमा सूर्योदय : बिहान ०६:०० बजे र सूर्यास्त : साँझ ०६:२० बजे, चैत्र कृष्णपक्षको त्रयोदशी तिथि, दिउँसो ०१:२४ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, शतभिषा नक्षत्र, दिउँसो ११:०१ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, मध्यरात्रीपछि ०४:४७ बजेसम्म, त्यसपछि मीन राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सिनियर्सलाई रिझाउन नसके पनि सहकर्मी साथीहरूको सहयोगले कुन महत्त्वपूर्ण काम सम्पादन हुनेछ । सोखका निमित्त दैनिक खर्चमा बृद्धि हुनसक्छ । भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, तर साँझपख बेचैनी बढ्ने समय छ । महत्त्वपूर्ण व्यक्तिहरूको सम्पर्कमा भइने छ र हाँके/ताकेका हरेक प्रतिस्पर्द्धा र सङ्घर्षमा विजयी बन्ने दिन हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेलले उत्पादनमा बृद्धि हुनसक्छ । हिसाबकिताव र कागजपत्र क्लियर राख्नुहोला, नत्र कुनै समस्या देखापर्न सक्छ । कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन् दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइनेछ । अहिले गरेको मिहिनेतले भविष्य सुध्रने सङ्केत छ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
उत्साहमा बृद्धि हुने कुनै समाचार सुन्न पाइनेछ, कुनै ठूलै योजना कार्यान्वयनको तैयारी हुनेछ, दिनदु:खी र बृद्धबृद्धाको सहयोग गर्दा भाग्य बढ्ने समय छ, त्यसैले कुनै पनि धार्मिक/पारम्परिक क्रियाकलापमा सहभागी भएको जाति हुन्छ । अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कार्यालयको कामविशेषले देश/परदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति बन्नसक्छ । परिवारमा कुनै अतिथिको आगमन हुनाले वा कार्यक्षेत्रको व्यस्तताले आपसी समन्वयमा कमी देखिने छ, भेट हुनसक्दैन भने कुराकानी गर्ने प्रयास गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यर्थका कुराकानीमा समय व्यतीत गर्न मन पर्नेछ । मुख चलाएर काम गर्ने पेसाका मानिसहरू जस्तै वकिल, शिक्षक, प्राध्यापक वा प्रवचनकर्ता पण्डित आदिले प्रशस्त लाभ पाउनु हुनेछ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ । चिन्ता, शङ्का र डर सल्बलाउने समय छ, सकेसम्म रिस र अहङ्कारलाई दबाउनु होला । दिक्क लागेको छ भने बरु विश्वस्त व्यक्तिसामु मनको बह फुकाएको ठीक हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नयाँ साथी बनाउन पाइने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ । प्रयास गरेमा प्रशस्तै नभए पनि राम्रो आम्दानीको सम्भावना देखिन्छ । विभिन्न भौतिक साधन जुट्नेछन्, तपाईंको व्यक्तित्वले धेरैको मन लोभ्याउन सक्छ । प्रेमिल भावना विकसित हुने दिन हो । काममा भन्दा पनि मन आनन्दप्राप्तिका निमित्त आकर्षित हुनेछ, सुखभोग गर्न पाइने छ । आज घर/परिवारमा रमाउने समय हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
स्वास्थ्य सबल देखिन्छ, शारीरिक थकान र मानसिक कमजोरीबाट जोगिन यो हप्ता मरमसला, चिल्लोचापिल्लो र बोसोयुक्त खानेकुराबाट टाढा रहनु तथा ताजा फलफूल र हरियो सागसब्जीको सेवन गर्नु उपयोगी हुनेछ । कामको बोझ र चाप बढ्नेछ । हरेक क्रियाकलापमा हतार नगर्नु होला, जुनसुकै कागजपत्रको समस्या र कानुनी पक्षबारे राम्ररी चिन्तन गर्नु ठीक हुन्छ । पार्टनरको व्यक्तिगत स्वास्थ्यमा वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, भलाकुसारी गरी भावना साटासाट गर्नु राम्रो हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यापारमा परिवर्तन गर्ने वा नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । परिवारमा प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव रहने समय हो । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता मिल्ने दिन हो । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
घरिघरि मन अशान्त भए झैं लाग्नेछ, तर एक्लै बसेर घोरिनुभन्दा तामेलीमा परेका विषयवस्तुमा ध्यानकेन्द्रित गर्नाले तथा बेलुका छिट्टै घर पुग्नाले केही फाइदा हुनसक्छ । सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्न सक्छन् । आन्तरिक विषयमा गोपनीयता कायम राख्नु ठीक हुन्छ । मौसमी रोगको सामान्य जोखिम छ, सचेत हुँदै कार्यक्षेत्रमा खट्ने समय हो, व्यक्तिगत प्रतिष्ठा र सम्मान पाउन सकिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सँगीसाथीसँग अलमलिंदा वा आफ्नै काममा व्यस्त रहनाले भेटघाटको अनुकूलता मिल्दैन, तर यथासम्भव तालमेल मिलाउनु राम्रो हुन्छ । सन्तान वा भाइबहिनीका लागि थप लगानी बढाउने परिस्थिति छ, उता बुद्धि र विवेकको सही परिचालन हुन सक्दैन र कार्यक्षेत्रमा खप्की खानुपर्ने हुन्छ । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आपसी भेटघाट र मेलमिलापको समय हो, आफन्तसँग फोनमा नै किन नहोस् सम्पर्क गरी भलाकुसारी गरेको राम्रो हुन्छ । मौखिक अभिव्यक्ति, साहित्य, कला र मनोरञ्जनसँग सम्बन्धित विषयको ज्ञानप्राप्तिका लागि राम्रो समय देखिन्छ । पछिसम्म फाइदा हुने काम सम्पन्न हुनेछ, बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ । बलियो आत्मविश्वास भएकाले कतै लगानी गर्ने योजना छ भने तुरुन्तै कार्यान्वयन गर्नु ठीक हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम सजिलै सम्पन्न गरी भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउने समय हो । भविष्यमा केही गर्नसक्छु भन्ने आत्मविश्वास जाग्ने राम्रो दिन छ । आलस्य नगरी नयाँ विषयको जानकारी लिएमा बौद्धिक क्षमतामा बृद्धि हुनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, हिजोअस्तिका तुलनामा केही न केही धनार्जनको अवसर मिल्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मन भावुक र चञ्चल बन्नसक्छ, दिनभरि कार्यक्षेत्रमा व्यस्त हुनुपर्ने भएकाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन छ । घमण्ड र अभिमानले शरीरमा डेरा जमाउने समय हो । गलत तरिका अपनाउँदा केही धनलाभ पनि हुनसक्छ, तर आज कुभावना र अन्याय गर्नबाट जोगिएको जाति हुन्छ । कारोबारमा राम्रै फड्को मार्ने समय छ, थोरै प्रयास गर्दासमेत राम्रो उपलब्धि हात पर्नसक्छ । लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढी रहने समय हो ।

प्रतिक्रिया दिनुहोस