कात्तिक ९, सुर्खेत । सुर्खेत प्रहरीले लागूऔषध ब्राउनसुगर सहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरेन्द्रनगर–११, सुब्बाकुना प्रहरी चेकपोष्टमा नेपालगञ्जदेखि सुर्खेत आइरहेको बा.१७ च–७९६९, नम्बरको स्कारपियो गाडीबाट २ सय ७० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्कारपियोका चालक वीरेन्द्रनगर–११, का ३० वर्षीय गंगे सुनार, सोही ठाउँका ३९ वर्षीय दिपक ढकाल, ३० वर्षीय नवीन बक्स र दैलेखको डुङ्गेश्चर गाउँपालिका–३, घर भई हाल वीनपा–१०, मा बस्दै आइरहेका १७ वर्षीय लोचन रावल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिनुभयो ।
उहाँले वीरेन्द्रनगरकै पाथीभरा टोलबाट लागु औषध ब्राउनसुगरसहित वीरेन्द्रनगर–९, लाटीकोईलीका २४ वर्षीय सुरज शाही र वीनपा–२, बाङंगेसिमल बस्ने २७ वर्षीय उमेश सुनारलाई पक्राउ गरिएको बताउनुभयो । उहाँका अनुसार उनीहरूको साथबाट १ ग्राम ४ सय ८० मिलिग्राम लागू औषध ब्राउनसुगर बरामद भएको छ । प्रहरीले वीरेन्द्रनगरकै गण्डकीलाइनबाट चेकजाँचका क्रममा सन्तोष बैगारको साथबाट १ ग्राम ४ सय ४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेका माथि अहिले थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।