• २०८१ असोज २५ गते शुक्रवार

सहिदको योगदानलाई भुल्न हुँदैन : वरिष्ठ नेता पौडेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन १४, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहिदको योगदानलाई भुल्न नहुनेमा जोड दिनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिक आज अनावरण गर्दै उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएकाले सहिदलाई सदैव सम्मान गर्नुपर्ने बताउनुभएको हो । स्व विक्रम परियारको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा जोड दिँदै नेता पौडेलले भन्नुभयो, “सहिदको परिवारलाई कांग्रेसले सधँै सम्मान गर्छ ।

फरक प्रसङ्गमा विगतमा सबै कम्युनिष्ट नेता एमसिसीका पक्षमा भए पनि अहिले चीनको इशारामा त्यसको विपक्षमा उभिएको आरोप लगाउँदै उहाँले एमसिसी नेपालको हितमा रहेको र विद्युत् शक्ति बेचेर नेपाललाई धनी बनाउन अमेरिकाले चाहेको छ भन्नुभयो ।

सोही दलका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीले सहिदको उचित सम्मान गर्न नसकेको बताउनुभयो । उहाँले कांग्रेसलाई सङ्गठित र व्यवस्थित पार्टी बनाउनुपर्नेमा जोड दिँदै त्यसो भएमात्रै सबै चुनाव कांग्रेसले जित्ने बताउनुभयो । केन्द्रीय सदस्य गोविन्द भट्टराईले सहिद विक्रम परियारको परिवारलाई उचित व्यवस्थाका लागि पार्टीले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयोे ।व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सहिद विक्रम परियारको शालिक र पार्क निर्माणका लागि नगरपालिकाका तर्फबाट रु १० लाख उपलब्ध गराइएको छ भन्नुभयो । कांग्रेस जिल्ला सभापति जीतप्रकाश आलेले लोकतान्त्रिक आन्दोलनमा ज्यान गुमाएका सहिदलाई पार्टीले सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्व विक्रम परियार शालिक तथा पार्क निर्माण समितिले रु ११ लाखको लागतमा परियारको अर्धकदको शालिक निर्माण गर्न लगाएको थियो । व्यास नगरपालिका–१२ का वीर उपरकोटीले सहिद परियारको शालिक निर्माण गर्नुभएको थियो ।पार्कलाई थप व्यवस्थित गर्न बाँकी रहेको समितिका अध्यक्ष होमबहादुर बस्नेतले जानकारी दिनुभयो ।

गायन क्षेत्रमा सक्रिय परियारको विसं २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मतदान सकिएपछि केही युवाले हत्या गरेका थिए । परियारको जन्म विसं २०३१ जेठ ११ गते बन्दीपुरको हुस्लाङमा भएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस