माघ १२, कैलाली । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि आज बुधवार भएको चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका उम्मेदवार राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् ।
कांग्रेका नारायणदत्त मिश्र खुलामा विजयी हुँदा प्रदेश र स्थानीय तहतर्फ समान १ हजार ८ सय ७२ मतभार प्राप्त गर्नुभयो । उहाँको प्रतिद्वन्दी एमालेका डिल्लीराज भट्टले प्रदेशतर्फ ६ सय २४ र स्थानीय तहतर्फ १ हजार २ सय ७२ मतभार प्राप्त गर्नुभयाे । महिला खुलातर्फ एकीकृत समाजवादीकी मदनकुमारी शाह विजयी हुनुभयो । उहाँले प्रदेश सभातर्फ १ हजार ८ सय ७२ र स्थानीय तहतर्फ १ हजार ९सय ६२ मतभार प्राप्त गर्नुभयाे । उहाँकी प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमारी शर्माले प्रदेश सभातर्फ ५ सय ७६ र स्थानीय तहतर्फ १ हजार १ सय ५२ मतभार प्राप्त गर्नुभयाे ।
यस्तै दलिततर्फ माओवादी केन्द्रका जगत पार्की विजयी हुनुभयो । गठबन्धनबाट उम्मेदवार बन्नुभएका पार्कीले प्रदेशतर्फ १ हजार ८सय ७२ र स्थानीय तहतर्फ १ हजार ८सय ९० मतभार प्राप्त गर्नुभयाे । उहाँको प्रतिद्वन्द्वी एमालेका नरेश विकले प्रदेशतर्फ ५ सय ७६ र स्थानीय तहतर्फ १ हजार २ सय ६ मतभार प्राप्त गर्नुभयो ।