• २०८१ मङ्सिर २२ गते शनिवार

सेनाले दिएको रगतले सुत्केरीको ज्यान बचायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन १३, बैतडी । नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान बचाइएको छ । बच्चा जन्माउन नसकेपछि जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा अत्यधिक रक्तश्राव भएर छट्पटाइरहेकी सुर्नया गाउँपालिका–२ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेको ज्यान नेपाली सेनाको रक्तदानले बचाइएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।

सदरमुकामस्थित हनुमानध्वज गुल्ममा कार्यरत सेनाका अमल्दार बालकृष्ण विष्ट र प्युठ टीकाराम विकले दिएको एक-एक पिन्ट रगतले ती सुत्केरीको ज्यान बाँचेको हो । जिल्ला अस्पतालमा सुत्केरी व्यथा लागेर दुई दिन अगाडि भर्ना भएकी सरस्वतीले शल्यक्रियाबाट बच्चा जन्माइन् । सरस्वतीको ‘बी पोजेटिभ’ ब्लड ग्रुप रहेको र यहाँ ब्लड बैंक नहुँदा सेनाको गुल्ममा खबर गरिएको थियो । सूचना अधिकारीले भने, ‘शल्यक्रियामार्फत बच्चा जन्माएकी उहाँको शरीरमा रगतको कमी भई बेहोस भएपछि सेनालाई गुहारेका थियौँ, सेनाले दिएको रगतबाट सुत्केरीको ज्यान जोगाउन सफल भयौँ ।

शल्यक्रियापछि बिरामीलाई डडेल्धुरा अस्पताल रेफर गरिएको र अहिले आमा र शिशुको स्वास्थ्य सुधार हुँदै अस्पतालले जनाएको छ । अस्पतालले रगत आवश्यक भएको खबर गरेकाले तत्कालै रगत दान गरिएको गुल्मपति तथा सेनानी खिलबहादुर रानाले बताए ।

उनले भने, ‘अस्पतालले रगत आवश्यक परेमा हामीलाई सधैँ खबर गर्ने गर्दछ, सेनाले दिएको रगतले धेरैको ज्यान जोगिएको छ ।’ बैतडीमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा रगतको आवश्यकता पर्दा सेना र प्रहरीकै भर पर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस