फागुन १२,काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडले गत माघ २७ गतेदेखि आयोजना प्रभावित बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ । अब आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने बासिन्दाले यही फागुन १९ गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गरेको थियो । तीमध्ये १० लाख ९६ हजार ७८२ कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र जुगल गाउँपालिकाको वडा २, ३ र ४ का बासिन्दाका लागि तथा आयोजनाको प्रसारण लाइनबाट प्रभावित क्षेत्र जुगल गाउँपालिका– ५ र ७, बलेफी गाउँपालिका १, ३, ६ र ७ र सुनकोसी गाउँपालिका–७ का बासिन्दाका लागि सात लाख ३१ हजार १८८ कित्ता शेयर खरिदका लागि दर्खास्त माग गरेको थियो ।
कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयले छिटोमा आज फागुन १२ सम्ममा आवेदन दिनुपर्ने थियो तर यो अवधिसम्म मागबमोजिम दर्खास्त प्राप्त नभएका कारण आवेदनको समय फागुन १९ सम्म थप गरिएको कम्पनीले जनाएको छ । जसअनुसार आयोजना क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि फागुन १९ सम्म आवेदन दिन पाउनेछन् ।