फागुन १२, काठमाडौं । नेपाली जनप्रगतिशिल मञ्च बहराइनले एमसीसीको विरोध गरेको छ । मञ्चका अध्यक्ष युवराज केसी लगायतले बहराइनका लागि नेपाली कार्यबाहक राजदूतलाई ज्ञापनपत्र बुझाउँदै एमसिसीका अपमानजनक शर्तहरु खारेज गर्न माग गरेका छन् ।
आफूहरु अमेरिकी सहयोगको विरुद्धमा नभएपनि शर्तबद्ध भएर गरिने कुनै पनि सहायता नेपालको हितमा हुँदैन भन्नेमा सजग रहेको उल्लेख गरिएको छ । ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयलाई समेत गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘हामी नेपाल सरकार र अमेरिकी सरकारबीच भएको एमसिसी सम्झौताको जोडदार बिरोध गर्न चाहान्छौँ । किनभने यो सम्झौता नेपालको स्वतन्त्र सार्वभौमसत्ता र स्वाभिमानको विरुद्ध छ । एमसिसीसँग जोडिएका शर्तहरु नहटाएसम्म सम्झौताको बहिष्कार गरिनु पर्छ भन्ने हाम्रो मान्यतामा दृढ भएको जानकारी यस ज्ञापन पत्र मार्फत गराउन चाहान्छौँ ।