चैत ९, काठमाडौं । स्थानीय तहका बहालवाला पदाधिकारीलाई आगामी वैशाख ३० मा तोकिएको स्थानीय निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आयोगलाई चैत ३ मा राजपत्रमा प्रकाशित भई सार्वजनिक भएको आचारसंहिताको दफा ३६ कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।
आयोगको स्थानीय तह निर्वाचनलक्षित आचारसंहिताको दफा ३६ मा भनिएको छ, ‘कुनै स्थानीय तह वा स्थानीयतहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार मनोनयन दर्ता गर्नुअगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ ।’ उक्त व्यवस्था कार्यान्वयनमा रोक लगाउनुपर्ने मागसहित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्चमा रिट दायर गरेका थिए ।
शेर्पाले जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था संविधानविपरीत रहेको रिटमा जिकिर गरेका छन् । ‘संविधानले तीन तहको सरकारको व्यवस्था गरेको तर स्थानीय तहका जनप्रतिनिधिले मात्रै राजीनामा दिनुपर्ने किन ?’ भन्ने प्रश्न उनको छ । निर्वाचनमा उम्मेदवार बन्नु पहिल्यै राजीनामा दिँदा जनता राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित हुने उनको तर्क छ । राजीनामा बाध्यकारी नभई स्वैच्छिक हुने भएकाले आयोगले निर्वाचन आचारसंहिता जारी गरी राजीनामा दिन बाध्य गराउन नमिल्ने रिटमा उल्लेख छ ।
सर्वोच्चले आचारसंहितामा राजीनामा दिनुपर्ने प्रावधान राख्नुपर्नाको कारण खुलाई १५ दिनभित्र पेस गर्न पनि आयोगलाई आदेश दिएको छ । अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने–नदिने भन्नेमा छलफल गर्न सर्वोच्चले चैत १३ मा आयोगलाई अदालत बोलाएको छ । ‘निवेदकले अन्तरिम आदेश जारी गरिपाऊँ भनी माग गरेको सम्बन्धमा विचार गर्दा दुवै पक्षको छलफलपश्चात् निर्णयमा पुग्दा मनासिव हुने देखिएकोले मिति २०७८ चैत १३ मा अन्तरिम आदेश छलफलको पेसी तोकी सो छलफलमा उपस्थित हुनु भनी विपक्षीलाई सूचना दिनू,’ सर्वोच्चको आदेशमा भनिएको छ ।
स्थानीय तहका पदाधिकारीले राजीनामा दिए मात्रैउम्मेदवार बन्न पाउने आचारसंहिताको व्यवस्था गलत भएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले पनि आयोगमाथि प्रश्न उठाएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा रहेको छ ।