फागुन १०, बाँके । नेपालगन्जबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–९ शान्तिपुरका २४ वर्षीय प्रविण विसीलाई १५० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिका–१६ चौलिका चोकस्थित शंकास्पद रुपमा हिडिरहेका उनलाई चेकजाँच गर्दा ज्याकेटको दाँहिने खल्तीमा ३ वटा प्लाष्टिकमा पोका पारि राखिएको उक्त ब्राउनसुगर बरामद गरिएको डिएसपी न्यौपानेले बताए । उनलाई लागु औषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा एक वर्षदेखि लागुऔषध सेवन तथा कारोवारमा संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट नगद ३ हजार बरामद गरेको छ ।