• २०८१ असोज २० गते आइतवार

एमसीसीमा विवाद भएपछि समाजवादी दिउँसो १ बजे बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन ९, काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीमा एमसीसीबारे चर्को विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको छ । बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाएको सो पार्टीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।

यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो । तर, पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए । उनले आइतबारको संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए ।

शनिबारको स्थायी कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दुई पटक विज्ञप्ति निकाल्नुपरेको थियो । खतिवडाले दुई पटक विज्ञप्ति निकाल्दा पनि स्पस्ट नभएको भन्दै पुन महासचिव डा.बेदुराम भुसालले अर्को विज्ञप्ति निकालेका थिए । खतिवडाले पहिला निकालेको विज्ञप्तिमा एमसीसी संशोधनबिना अगाडि बढाउन नसकिने पूर्ववत् अडान कायमै रहेको र थप निर्णय गर्नुपर्ने अधिकार सचिवालयलाई दिइएको उल्लेख गरेका थिए । लगत्तै अर्को वक्तव्यमा संसद अवरोध हटेर दलहरुबीच राजनीतिक सहमति जुटेमा एमसीसी पेश गर्न तयार भएको उल्लेख थियो ।

‘बैठकले एमसीसी कम्प्याक्टलाई जस्ताको तस्तै अनुमोदन गर्न नसकिने, तर सार्वभौम संसदमा सघन छलफल गर्न भने तयार हुने निर्णय गरेको छ’, भुसालको वक्तव्यमा भनिएको छ । तर, नेता खनाल एमसीसी संसदमा टेबल गर्न दिने कि नदिने भन्नै बैठकमा कुनै नै निर्णय नभएको दावी गर्दै आएका छन् ।

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक समेत रहेका जीवनराम श्रेष्ठ स्थायी कमिटीको निर्णय नै एमसीसीबारे आधिकारिक निर्णय भएको बताउँछन् । ‘एमसीसीमा पार्टी स्थायी कमिटीको निर्णय प्रस्ट छ । संसदमा पेश गर्न दिने, तर संशोधनबिना अनुमोदन नगर्ने भन्ने नै हो’, श्रेष्ठले रातोपाटीसँग भने, ‘स्थायी कमिटीको निर्णय सचिवालयले काट्न सक्दैन ।’

प्रतिक्रिया दिनुहोस