• २०८१ असोज २२ गते मङ्गलवार

धवल पुरस्कारबाट न्यौपाने र श्रेष्ठ पुरस्कृत

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन ८, काठमाडौँ। धवल पुरस्कारबाट वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपाने र सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक निर्मल श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।धवल पुस्तकालय पाल्पाद्वारा स्थापित सो पुरस्कार वरिष्ठ साहित्यकार एवं प्राज्ञ बुद रानाले पुरस्कृत न्यौपाने र श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

धवल पुरस्कार २०७७ बाट वरिष्ठ साहित्यकार न्यौपाने र धवल सिर्जना पुरस्कार २०७७ सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक श्रेष्ठलाई सम्मान गरियो । दुवै पुरस्कारको राशि रु २५ हजार रहेको छ ।पूर्वखोला–३, रिङनेरह बस्ने साहित्यकार न्यौपाने भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा साधनारत र अठार महापुराणका वाचकसमेत हुनुहुन्छ भने सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक श्रेष्ठ तानसेन– ३ का हुनुहुन्छ । श्रेष्ठले पाल्पाको इतिहासमा कला संस्कृतिमा कलम चलाउदै आउनुभएको छ ।
धवल पुस्तकालयले राष्ट्रिय प्रतिभाप्रति सम्मान र प्रतिभामा उत्प्रेरणा जगाउने उद्देश्यले धवल पुरस्कारको स्थापना गरेको पुस्तकालयका अध्यक्ष युवराज पौडेलले बताउनुभयो । पुस्तकालले अब प्रत्येक वर्ष प्रजातन्त्र दिवसका दिन धवल पुरस्कार र धवल सिर्जना पुरस्कार प्रदान गर्नेछ ।

विसं १९८३ मा स्थापना भएको सो पुस्तकालय नेपालकै पहिलो सार्वजनिक पुस्तकालय हो । पुस्तकालय सञ्चालक समितिले पुस्तकालयका महासचिव राजेशकुमार अर्यालको संयोजकत्वमा प्राध्यापक डा हिरण्य ज्ञवाली र त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टङ्कप्रसाद भट्टराई रहेको सिफारिस समितिले पुरस्कारका लागि वरिष्ठ साहित्यकार न्यौपाने र लेखक श्रेष्ठको नाम छनोट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस