माघ ६, जनकपुरधाम । आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ । बिहीबार जनकपुरधाममा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी एमाले र लोसपाले चुनावी गठबन्धन घोषणा गरेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेश अध्यक्ष जितेन्द्र सोनल र नेकपा एमालेको तर्फबाट प्रदेश अध्यक्ष रामऔतार यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । लोसपासँगको गठबन्धनपछि एमालेकी विनादेवीले उम्मेदवारी फिर्ता लिएकी छन् । राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशका जनताको चाहना र भावनालाई मध्यनजर गर्दै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच सहमति भएको बताइएको छ ।
सहमतिअनुसार अन्यतर्फ नेकपा एमालेका उम्मेदवार उसमान अंसारी (सूर्य छाप) र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार रुपा कुमारी यादव (साईकल छाप) लाई मतदान गर्न राष्ट्रिसभाका मतदातासँग अपिल गरिएको छ । गठबन्धन घोषणा कार्यक्रममा नेकपा एमालेका सचिव रघुवीर महासेठ र पोलिटब्युरो सदस्यद्वय जुली महतो तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठलयागतका नेताहरुको उपस्थिती रहेको थियो ।
मधेस प्रदेशमा स्थानीय तहबाट २६८ मतदाता छन् भने प्रदेशसभा तर्फबाट १०४ जना छन् । यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा कांग्रेसको २ हजार २६२ मतभार, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ । फोरम लोकतान्त्रिक कांग्रेसमा आइसकेकाले कांग्रेससँग अब २ हजार ३७० मतभार रहेको छ ।
राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशिकला दाहालको समयअवधि समाप्त भएपछि चुनाव हुन लागेको हो ।
स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ ।