• २०८१ असोज २९ गते मङ्गलवार

पाँच लाखको सामूहिक दुर्घटना बीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६,काठमाडौँ ।प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रोजगारी पाएका श्रमिकको रु पाँच लाखको सामूहिक कार्यस्थल दुर्घटना बीमा हुने भएको छ । मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन गरेर उक्त व्यवस्था लागू गरेको हो ।


नयाँ व्यवस्थाअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएकामध्ये रोजगारीमा खटिने दुई लाख श्रमिकको काममा खटिएका १०० दिनको अवधिको मात्र सामूहिक कार्यस्थल दुर्घटना बीमा लागू हुनेछ ।
निर्देशिकाअनुसार श्रमिकको बढेको ज्याला र बीमा चालु आर्थिक वर्षबाट लागु हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बीमाका लागि चालु आवमा रु दुई करोड विनियोजन गरिएको छ । गत आवमा बीमाका लागि रु एक करोड ९९ लाख रकम विनियोजन गरिएको थियो ।
श्रम मन्त्रालयका अनुसार रोजगार व्यवस्थापन सूचना प्रणालीमा देशभरबाट सात लाख ४३ हजार ८१ हजार युवा बेरोजगार सूचीमा सूचीकृत भएका छन् । यो सङ्ख्या गत वर्ष नै प्रधानमन्त्री रोजगारका कार्यक्रममा आबद्ध हुनका लागि आवेदन दिएका बेरोजगारको हो । चालु आवमा रोजगार कार्यक्रमका लागि सरकारले रु १२ अर्ब बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस