• २०८१ माघ २ गते बुधवार

पशुपतीनाथ भगवानको दर्शन गरि दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ६ मिनेट

वि.सं. २०७९ वैशाख ०५ गते सोमवार तदनुसार ई. सं. २०२२ अप्रिल १८ तारिख, नल नामक संवत्सर, शाके :– १९४४, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (चौलागा), नेपालमा सूर्योदय : बिहान ०५:३९ बजे र सूर्यास्त : साँझ ०६:३० बजे, वैशाख कृष्णपक्षको द्वितीया तिथि, बेलुका ०९:४१ बजेसम्म, त्यसपछि तृतीया तिथि, स्वाती नक्षत्र, बिहान ०७:२८ बजेसम्म, त्यसपछि विशाखा नक्षत्र, चन्द्रमा तुला राशिमा, मध्यरात्रीपछि १२:३१ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन अवसरहरूले भरिएको राम्रो समय छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ मिल्नाले सानो प्रयासले तपाईंको कीर्ति र प्रतिष्ठामा बृद्धि हुनसक्छ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने राम्रो दिन छ, तर आज कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्द र मस्तीमा भुलिने समय हो । निर्धारित कार्यक्रमअनुसार प्रेमीप्रेमिकाको मिलन हुने र इच्छाअनुरूप एकान्तमा बस्न पाउने तथा मनका आन्तरिक भावना साटासाट गर्ने दिन हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
फाइदा हुने र लाभमूलक क्षेत्रमा मनको आकर्षण रहने छ । शरीर स्वस्थ रहनुका साथै गरेको कर्मफलका रूपमा धनको वर्षा नै हुने सङ्केत देखिन्छ । बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार र भाँडाकुँडाका व्यवसायी खुसी हुने दिन हो, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्नसक्छ । घरको वातावरण सुख–शान्तिले भरिपूर्ण रहनेछ । पतिपत्नीबीच उचित समन्वय कायम हुन्छ, तर दाम्पत्य सम्बन्धमा एकअर्काको भावनाको कदर गर्नु जरुरी देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अध्ययनका विषयवस्तुप्रति गम्भीर बन्ने समय आएको छ । पढाइमा लगाव बढाउनुहोस्, सोचेको रिजल्ट पाउन सकिने छ । बुद्धि खियाएर गरिने काम तथा सन्तति वा भाइबहिनीका तर्फबाट आर्थिक लाभ हुने समय छ । कुनै जमघट वा समारोहमा सहभागी बन्न सकिन्छ, मौका पर्दा दमदार भाषण ठोक्ने र ताली पाउने दिन हो । आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ, उता घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । कार्यक्षेत्रमा सन्तोषजनक परिस्थिति नै देखिन्छ, तर घरपरिवारमा कुनै स्वास्थ्यगत समस्या देखा पर्नसक्छ, सम्पर्क राखी खैखबर बटुल्नु ठीक हुन्छ । घरजग्गा, रियलस्टेट, सेयर कारोबार वा कुनै अचल सम्पत्तिको कारोबारमा लगानी गर्ने समय हो, साथै बन्दव्यापारको विकास र विस्तारमा पनि धनव्यय हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारिक जीवन सुखद रहनेछ । पुराना साथीभाइ र सहयोगीहरूसँग भेटघाट हुनेछ । बहुप्रतीक्षित अभिलाषाको पूर्ति हुने समय छ । कुनै नजानेको वा नसुल्झिएको विषयवस्तुमा आज सहपाठी र गुरुहरूको सहयोग लिएको राम्रो हुनेछ । कुनै नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने त्यसका लागि अनुकूल समय छ, तर शङ्कास्पद र कमजोर पक्ष विचार गरी अघि बढ्नु ठीक हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परीक्षा वा प्रतियोगिताको तैयारी गर्दै हुनुहुन्छ भने आज आत्मविश्वास बढ्नेछ, प्रयास गर्नुहोस् सफलता तपाईंको मुट्ठीमा हुनेछ । तपाईंभित्रको सामर्थ्य र रचनात्मकताले प्रस्फुटित हुने मौका पाउने छ । आफ्नो प्रतिभा प्रदर्शन गरी वा कुनै अभिव्यक्तिगत कला प्रस्तुत गर्दै धन र मान कमाउन सकिने छ । सुरुमा कठोर शब्द र खरो बोलीका कारण सेवाग्राही र जुनियर स्टाफ रुष्ट हुनसक्ने समय हो, तर सहकर्मीको साथ पाउनाले जटिल समस्यासमेत हल गर्न सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
शीघ्र धनार्जन गर्ने उपाय अवलम्बन गर्दा विचार पुर्याउनु राम्रो हुन्छ । प्रत्यक्ष अनुभूतिमा आधारित कुरामा मात्र विश्वास गर्नुपर्ने दिन हो । आम्दानीका मार्गहरू बढ्नेछन् र कुनै सरकारी वा राजनैतिक काम गर्न अनुकूल समय छ । तामा र रातो चिजबीजसँग सम्बद्ध कारोबारीले सफलता पाउने दिन हो । नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ । घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गर्न मन लाग्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नजान्ने वा कमजोर छ भन्ने ठानेर कसैको पनि अर्ती र सुझावलाई बेवास्ता गर्नु हुँदैन । कसैलाई पनि केवल आश्वासनमात्र नदिनुहोला, सक्नुहुन्न भने स्पष्टसँग म सक्दिन भन्न सक्नुपर्छ । शरीर भारी हुने समय हो, कुनै काम गर्दा सामान्य त्रुटि हुनसक्ने वा बिलम्ब हुने लक्षण छ । बरु बित्ने परिस्थिति छैन भने काम छाडेर आराम गर्दा उचित हुनेछ । राम्रै गर्दा पनि नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुराको खुलासा नगर्नु बुद्धिमानी हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अलि बढी दौडधूप गर्नुपरे पनि सम्भावनाका बाटाहरू पहिल्याउन सकिने समय छ । बुद्धिको उपयोगले सेवाग्राहीलाई सन्तुष्ट बनाउन सक्नुहुन्छ । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । विशिष्ट व्यक्तिको सामीप्य पाउन सकिने छ, रोकिएको काम बन्ने तथा जिम्मेवारीसमेत बढ्ने दिन हो । आयको मार्ग सबल बन्नाले थप हौसला प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ । श्रम अलि बढी गर्नु परे पनि बेफाइदा नै त हुँदैन, तर पनि पारिवारिक सम्बन्ध निरस देखिन्छ । कामको चटारो परेको समय छ, ससाना कुरामा पनि आफैं नखटी पार लाग्दैन । आज आत्मसम्मान झल्कने दिन हो, नेतृत्व र निर्णय फलदायी हुनेछन् । क्यारियरको सोच पलाउने समय छ, कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धनधान्य बृद्धिका लागि इज्जत र प्रतिष्ठालाई दाउमा राख्नु हुँदैन । कुनै त्यस्ता कार्य सम्पन्न हुनेछन्, जसले भविष्यमा राम्रो फाइदा दिलाउन सक्छ । सामाजिक र परोपकारी काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । महत्त्वाकाङ्क्षा राख्नाले लक्ष्य पहिल्याउन सजिलो हुनेछ, कुनै योजना छन् भने अझ धेरै मिहिनेत गर्नुहोस्, सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अस्वस्थताका बीचमा कामको चाप बढ्ने दिन हो । आफ्ना कमजोरीको फाइदा अरुले उठाउन सक्छन्, परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ । त्यस्ता चालचलन र व्यवहारप्रति तपाईंले आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको शङ्का र गुनासो बढ्ने गर्दछ । विश्वस्त व्यक्ति वा आफन्तले नै विश्वासघात गर्ने दिन हो, अझ भ्रमका पछि कुद्ने हुँदा तनाव र झञ्झट बढ्नसक्ने अनि बलजफ्ती गर्नेहुँदा चोटपटक नै लाग्नसक्ने दिन हो ।

प्रतिक्रिया दिनुहोस