फागुन ६,रुपन्देही। बुटवल उपमहानगरपालिका-१ तिनाउपुलबाट अवैध रुपमा ल्याउँदै गरेको करिब ४ लाख रुपैयाँ मूल्य बराबरको १ सय ८८ जोर जुत्ता र १ हजार २ सय ९६ मिटर कपडा सहित सैनामैना नगरपालिका(२ बस्ने २८ वर्षीय कृष्ण थापा र ४० वर्षीय तुलसी थारूलाई बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
लु.१ ज ३१६७ नम्बरको पिकअपलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा पिकअपमा ल्याउँदै गरेको उक्त सामानहरू सहित चालक कृष्ण र पिकअपमा सवार तुलसीलाई सामान र गाडी सहित पक्राउ गरेको हो । उनीहरूलाई पिकअप र बरामद सामानहरू सहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ ।
यसैगरी बुटवल उपमहानगरपालिका-५ विकासपथस्थित अहमद मिया र ईशाक मियाको नेपाल फुटवेयर गोदामबाट अवैध रुपमा राखिएका ६ हजार १ सय ३४ जोर जुत्ता, ५ हजार २ सय ५० जोर चप्पल र ३ सय २५ जोर सेण्डिल गरी ७४ लाख ८ हजार ६ सय रुपैयाँ मूल्य बराबरको सामानहरू बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही, ईलाका प्रहरी कार्यालय बुटवल र राजश्व अनुसन्धान कार्यालय बुटवल समेतबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उक्त सामानहरू फेला पारी बरामद गरेको हो । बरामद सामानहरू आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा राखिएको छ ।